• ६ माघ २०७८, बिहीबार
आमालाई खुशी पार्न बिहानै भेडासिंहबाट पानी ल्याउँथे नारायणगोपाल

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७८, सोमबार ०७:३०

नारायणगोपाल गुरुवाचार्यको जीवन कथा १९९५ साल असोज १८ बाट शुरु हुन्छ । बाबु उस्ताद आशागोपाल गुरुवाचार्य र आमा रामदेवीका ३ छोरी र ६ छोरामध्ये नारायणगोपाल माइला हुन् । आशागोपाल सिद्धहस्त सितारवादक थिए, तर उनी आफ्ना सन्तान कला क्षेत्रमा नआउन् भन्ने चाहन्थे । उनका कान्छा छोरा लक्ष्मणगोपाल गुरुवाचार्य दाइ नारायण भने गीतसंगीतमै विख्यात हुन पुगेको बताउँछन् । उनका अनुसार बुवाले छोराछोरी आर्थिक भविष्य सुरक्षित हुनेगरी अरु नै पेशा–व्यवसायमा जाउन् भन्ने चाहेपनि नारायण छिमेकी हुतराज शर्मासँगको संगतले संगीततर्फ ढल्किँदै गएका थिए । त्यसको एक वर्षमै इन्द्रजात्राको समयमा किलागल क्षेत्रमा नारायणगोपाल सुनिन थाले । भाइ लक्ष्मणगोपालका अनुसार उस्ताद हुतराज शर्मासँगको संगतमा परेका नारायणगोपाल सत्तलहरुमा रात बिताउन थाले । नाटकका पनि गीतहरु गाउन थाले । रात–रातभर भजन र गीतहरु गाएर ढिला आउन थालेपछि घरमा तनाव भयो । त्यसमाथि किलागलको घरमा नारायणगोपालका गायक साथीहरुको हुल नै आउन थाल्यो । ‘दाइको कोठा पहिलो तलामा थियो,’ लक्ष्मणगोपाल सम्झन्छन्, ‘बुबाले थाहा नपाउने गरी आमाले राति खानाको पोका डोरीले बाँधेर झ्यालबाट तल दिनुहुन्थ्यो । आमालाई दुःख नहोस् भनेर दाइ बिहानै भेडासिंहको धाराबाट गाग्रीमा पानी ल्याउनुहुन्थ्यो ।’ किलागलका नारायणगोपाल विस्तारै बागबजार र नयाँ सडक (हाल न्युरोड)तिरका मेहफिलमा पनि जम्न थाले । बागबजारको गल्लीमा हिँड्ने प्रतिभाहरू उनका साथी थिए । न्युरोडमा जुद्वको शालिकअघि हुने जमघटमा उनी नियमित हुन्थे । त्यही यात्राले कालान्तरमा उनलाई स्वर सम्राटको मुकाममा पुर्‍यायो ।

धेरै मदिरा पिउने, साथीभाइसँग घुलमिल नहुनेजस्ता किस्साहरु नारायणगोपालसँग जोडेर सुनाउने गरिन्छ । यी सबैमा सत्यता नभएको भाइ लक्ष्मण बताउँछन् ।

‘न्युरोडको गल्लीमा अइला–कचिलासँगै सिर्जना तिखारेका उनी होसै नहुनेगरी मदिरा पिउँथे भन्नु सरासर झूटो हो,’ उनी भन्छन्, ‘मदिरा पिउने हाम्रो संस्कृति नै हो, यो ठूलो कुरा होइन ।’

दार्जिलिङमा प्रेमप्रणय

प्रसिद्ध गीतकार नगेन्द्र थापा त्यसबेला दार्जिलिङ पढ्थे, जो नारायणगोपालका साथी थिए । त्यसबेलासम्म नारायणको गायकी दार्जिलिङमा लोकप्रिय बनिसकेको थियो, जहाँकी पेमला लामा उनको प्यारी भइसकेकी थिइन् । उनीहरुबीच प्रेमपत्र चलिरहेको थियो । त्यही मेसोमा २०२७ सालमा नारायण दार्जिलिङ पुगे । त्यही सालको फागुनमा नारायण र पेमला विवाह बन्धनमा बाँधिए । विवाह त गरे, तर नारायणगोपाल काठमाडौंको कट्टर परम्परावादी नेवार परिवारका थिए, जहाँ सजातीयबाहेक अन्य विवाहको स्थान थिएन । नारायणगोपाल पेमलालाई लिएर पोखरामा साथी भूपि शेरचनको घर गए । ६ महिना भूपिको घरमा बसिसकेपछि उनलाई आमाले हेटौंडाको आफ्नै घरमा गएर बस्न सुझाव दिइन् । त्यसपछि उनीहरु पोखराबाट हेटौंडातिर लागे । यता काठमाडौंमा साथी नगेन्द्र थापा नारायणगोपालका बाबु आशागोपाललाई सम्झाउन लागिपरेका थिए । हेटौंडामा बसेको करिब ३ महिनापछि उनीहरुले घर आउने अनुमति पाए । ‘दाइले पोखराबाट बुवालाई लेखेको पत्र अहिले पनि मसँग छ,’ लक्ष्मणगोपाल भन्छन्, ‘जे हुनु भइहाल्यो, अब राम्रोसँग गरेर खान्छौं, हामीलाई घरमा आउने स्वीकृति दिनुहोस् भनेर लेख्नुभएको थियो । त्यो पत्रबाट अलिकति नरम हुनुभएका बुवालाई नगेन्द्र दाइले मनाएरै छाड्नुभयो ।’ -अनलाईनखबरबाट

Nabintech