• १ असार २०७८, मंगलवार
कथा : सल्लाघारी

  • चित्र माबो (लिम्बू)

  • ६ चैत्र २०७७, शुक्रबार २२:५०

“काली आमा ! काली आमा !”

बाहिरबाट मधुर आवाजमा प्रश्न सोधियो– “के भयो बाबा ?”

आत्तिएको आवाजमा फेरि प्रश्नमाथि प्रश्न नै गरियो– “त्यो कुनाको के हो नि ?”

कुनाबाट घोर्ले आवाज आइरहेको थियो ‘ट्वा…ट्वा…!’ गर्दै । काली आमाले फेरि सोधिन्– “के को आवाज जस्तो छ त बाबा ?”
वातावरण प्रश्नविहीन भयो । ‘ट्वा… ट्वा… ट्वा…!’ गर्ने आवाज पनि चुपचाप भयो । कालीबा पिँढीमा आएर थ्याच्च बस्यो । थकित् मुहार बनाएर चिउडोलाई दायाँ हातले अडेसो दिएर एकोहोरो छानोबाट तप–तप खसेको पानीको थोप्ला हेरिरह्यो ।

सायद दिनको बाह्र बजेको थियो । सिमसिम पानी परिरहेको थियो । कुखुराको पोथी ‘कक्..कक्.. क्देक…!’ गर्दै बारीमा आत्तिएर उड्यो । भालेले टाउको तन्काएर ‘कुखुरी काँ…!’ गर्दै पोथीलाई साइड मार्यो । बाख्राहरू पनि खोरमा ‘पेलेले..पेलेले..!’

गर्दै थिए । असारको दिन भएकाले छिमेकीहरू मेलोमा व्यस्त थिए ।

कालीको बाको काँधमा हात राख्दै “बाबा किन आत्तिएको ?” कालीको बा अलि पनि हल्लिएन । काली आमाले आसकोटको एक छेउमा समातेर तान्दै उठाइन् । कालीको बाको आँखा भरी आँसु थियो । “छि ! छोरी मान्छेजस्तो किन आँट सानो बनाउँछौ बाबा ? तिम्रो यत्रो ठूलो महाभारतजत्रो छातीको किन अपमान गर्छौं बाबा ?” आँखाको आँसु पुछिदिँदै भनिन् ।

“तिमीले त गर्नु गर्यौ नि काली आमा । मैले समाजमा कसरी अनुहार देखाउनु ?” काली आमाको दुवै कुममा हात राखेर माया गर्दै भन्यो “तिमीलाई गाह्रो भा’होला जाऊ भित्र आराम गर ।” त्यस पछि पो काली आमाको नउनारी खस्यो । गोडाले साथ दिन छाड्यो । उनी ढल्न लागिन् । दायाँ हातको पाखुरीमा च्याप्प समातेर तान्दै कालीको बाले लगेर कुनामा सुतायो ।

नाक–मुख बिगारेर रोइरहेको बच्चालाई काली आमाले मुखभरी दूध चुसाउँदै भनिन् “कति सारो रूँदो रहेछ हौ ?”

“काली आमा !”

“किन बाबा ?”

“खास कुरो के हो त काली आमा ?”

“तिम्रो विदेशको कमाइले पेट त भरियो नि बाबा । तर के गर्नु र…!”

“अब यो समाजमा कसरी आधा नाक बोकेर हिँडौँ त ?”

“के गर्नु त बाबा ? पेट मात्र भरिएर हुन्न रहेछ । यो खाली अँगालो र रित्तो मनले तिमीलाई नै खोजिरह्यो । आखिर मैले रहरले होइन, बाध्यताले गरेँ । तिमी साथमा भइदिएको भए यो हाल ननिम्तिने थियो ! यो उमेरमा रित्तो मन र अँगालोले कति दिन पर्खोस् त बाबा ?”

“त्यसो भए सालघारीको कथा सत्य नै हो त ?”

“बाबा ! त्यसबेला पनि मैले त समुद्रपारिको तिम्रो तनलाई नै यो मनले सम्झेर भोग गरिरहेकी थिएँ ।”

ननिदाई देखेको सपनाहरू विचली हुँदै थियो । सायद त्यो दुर्वासना थियो या त दुर्दशा नै थियो । कालीको बा र आमाको जीवनमा तुषारापातको सुरुवात यही सल्लाघारीको कथाबाट हुँदो हो । काली आमालाई हेर्दै “तमी त मेरी प्यारी हौ नि, होइन काली आमा ?” कालीको बाबाको आँखाभरि आँसु थियो । सायद उसको मनमा ठूलै वज्र परेको छ । छोरा मान्छे हो । आफू नानाथरीको व्यवहार गरेर हिँडे पनि पत्नी सावित्री होस् । कसैले कोल्टे आँखाले नहेरोस् भन्ने चाहना सबैको हुन्छ । यो सबै पुरुषको स्वभाव नै हो ।

काली आमाले अनुहार लुकाइन् । “तिमी मेरी प्यारी हौ नि काली आमा ?” भन्ने वाक्यले काली आमाको भित्री हृदयबाटै लाज जगायो । यसबेला आफूलाई सबैभन्दा बढी विश्वास गर्ने आफ्नो भरपर्दो भरोसालाई ठूलो धोका दिएको महसुस भयो । आफूले जीवनमा गर्न नहुने गल्ती गरेको भान भयो । जुन गल्तीले जिन्दगीलाई नै अन्धकार बनाएको अनुभूति दिलायो ।

यसबेला कालीबालाई आकास आएर थिचेको महसुस भइरहेको थियो । आज कालीबालाई पूर्ण विश्वास लागेको छैन र हिजो त झन् कसैले यो शंकाको कुरो गर्नेलाई शत्रुझंै ठान्दथ्यो । हुनत त्यो सालघारीको कथा कालीको बाबाले साउदीबाट आएको ६ महिनापछि साता दिनअघि मात्र सुनेको थियो । राति ओछ्यान लाग्ने बेलामा “कुरो के हो त काली आमा ?” भनेर सोध्दा छड्के जवाफ आएको थियो “पेटमा नाँचिरहेको छ यस्तो नानाथरीको कुरो मनमा लिँदा भलाइ हुन्न बाबा, अब सबै कुरो बिर्सौं ।” भन्ने जवाफ आएको थियो । कालीबालाई आफ्नो श्रीमतीसँग पूर्ण विश्वास थियो । आफ्नो श्रीमती सावित्री ठान्दथ्यो ।

अगेनोको छेउमा बसेर काली बाले आगोलाई अगुल्टोले ठोस्दै ६ दिन अगाडिको आगोको छोरोको बिहेमा घटेको घटना एक–एक गरी सम्झ्यो ।

त्यो दिन वीरेको बुहारी पोइल गइन् भन्ने हल्ला चल्यो । त्यही निहुँमा कालीबा र वीरेको मारामार चल्यो । वीरेले सही नसक्नु वचन दिएकाले कालीबाको रिसको पारो चढ्यो । वीरेको ‘तेरो बूढीचाहिँ सालघारीमा नाठोसँग सल्केको नदेख्ने मेरो बुहारीको के कुरा काढ्छस है माइला ।’

कालीबाको कानमा फेरि गुन्जियो ‘आफ्नो आङको भैंसी नदेख्नेले अर्काको आङको जुम्राको कुरा नगर माइला ।’ वीरेको यो भनाइ पटक–पटक कानमा गुन्जिरह्यो । आफ्नो सावित्री स्वास्नीलाई मनपरी भनेको रिसको झाेंकमा वीरेको टाउको फुटाएकामा पञ्च भलाद्मी भेला भएर छलफल सकेको तीन दिन मात्र भएको थियो । कालीबाले उपचार खर्चबापत पाँच हजार जरिवाना र वीरेले माफी मागेर मिलोमतो भएको थियो । त्यहाँ धेरैको मुखबाट ‘परालमा किन आगो झोस्नु है, जे भयो सक्यो ।’ भन्ने आवाज निस्केको थियो ।

“काली बाबा !”

“के भयो काली आमा ?”

“खै ! केभा’हो, पेट करायो नि ।”

कालीबाले आफ्नो गह्रुँगो शरीर उठायो । तोङ्वा लगाएर अगेनोमा सेकाइ दियो र आँगनमा गएर मकैको दानो छर्दै ‘तुआ ! आ…. !’ भन्दै कुखुरा डाक्यो ।

०००
एक कान दुई कान मैदान भने झैं काली आमाले छोरो जन्माएको हल्ला गाउँभरि फैलियो । कालीबा भने लाजले आँगनमा निस्कनसम्म सकिरहेको थिएन । असारको चटारोले हो या अरू नै कारणले हो, छिमेकीहरूले पनि आँगनमा पाइला पुर्याएका थिएनन् । नराम्रो कुरो न हो, ‘काली वा घरमा सुत्केरी स्याहार्दै छरे’ भन्ने हल्ला भने गाउँभरि व्यापक बनिसकेको थियो ।
बिहान–बिहानै सुबिदार बा लौरो टेकेर आँगनमा उभियो । “माइला ! माइला ! भित्र को छ ?” सुबिदार बा टाउको तन्काउदै करायो । “म छु सुबिदार बा” भन्दै कालीको बा ढोकाबाट निस्कियो ।
“हैन गाउँमा खबर त राम्रो छैन नि ?”

“हो सुबिदार बा ! जे हुनु भई हाल्यो । अब के गर्नु र ?” टाउको निहुराएर काली बाले भन्यो ।

“हामी खाना खाएर आउँछौ । अब के गर्छस् है ?”

“के गर्नु र सुबिदार बा ? अब जे होला नि ।” सुबिदार बा आफ्नो बाटो लाग्यो । कालीबालाई भन्न मन लाग्यो ‘सुबिदारबा तिमी पनि लाहुरे हौ । घरमा स्वास्नी राखेर पल्टनमा त्यतिकै मन बुझाएर त बस्यौन नै ? पल्टनमा त वल्लो घर र पल्लो घर सापटी चलाउने चलन छ रे । आज तिमी किन ती दिनहरू बिर्संदै छौ ?”

कालीबाले आफ्नो विगतलाई’नि सम्झयो । आखिर छोरो मान्छे पनि कहाँको कञ्चन हुन्छ र ? छोरो मान्छे धेरै नै पापी हो । आफूले जीवनभरी काम चलाएको समान नयाँ नै होस् भन्ने चाहन्छ ।’

कालिका बाले सुबेदारबालाई डाँडाले नछेकिएसम्म हेरिपठायो । यो समाजले जे ठहर लगाए पनि आफ्नो निर्णय न्यायका लागि सबैभन्दा उत्तम हुने निचोडसँगै कालीबाले आफ्नो विचारमा तटस्थ हुने निर्णय गर्यो ।

दिनमा आँगनभरी मान्छेको भेला भयो । महिला, केटाकेटी र भलादमीको मेला लागेको थियो । कालीबालाई अगाडि उभ्याइएको थियो । कालीबालाई पञ्चले सोधे– “माइला, तँ विदेशबाट आएको ६ महिनामा तेरो स्वास्नी सुत्केरी भई । अब के गर्छस् त ?”
हात जोडेर कालीबाले बिन्ति गर्यो “जे हुनु भइहाल्यो, एक पल्टलाई माफी दिएँ हजुर ।”

“कहाँ त्यसरी हुन्छ ? वा हाडनाता पो थियो कि ? हैन भने पनि यो कसको बच्चा हो, हामी दाजुभाइ स्वीकार गर्न त सक्दैनौं नि ? यसरी समाजको अपहेलना गर्न त भएन नि माइला ?”

पछाडिबाट एउटी महिला बोलिन्, “सुबिदारको कुरो ठीक हो है, ठीक हो । दूधको दूध पानीको पानीचाहिँ हुनैपर्छ है ।”

पछाडि फर्केर सुबिदार बोल्यो– “समाजको कुरो के हो त ?”

केही समय हो–हल्ला मच्चियो ‘यसरी छाड्न हुन्न समाज बिग्रन्छ’ भन्नेमा सबैको भनाइ एउटै भयो ।

छलफलपछि समाजको निर्णय आयो । समाजको निर्णय निकै नै कठोर थियो । कालीबाले श्रीमती त्याग्नुपर्ने, यदि होइन भने समाजको निर्णय मानेर समाजभन्दा अलग्गै गएर बस्नुपर्ने ।

०००

अगेनोमा निहुरिएर काली बेस्सरी आगो फुकिरहेकी थिइन् । सायद उनलाई भोकले सताएको थियो होला, हावाको दबाबले उडेको खरानी हिउँझैं सेताम्मे भएर कालीको टाउको रंगिएको थियो । कालीको टाउकाको सेताम्मे खरानी टक्टकाउँदै कालीको बाले भन्यो– “छोरी ! हामी यो समाजमा नअँटाउने भयौं, त्यसैले भोलि बिहान हामी भञ्ज्याङ काट्छौं । तिम्रो कापी किताब भारी लगाउनु ल ।”

“किन बाबा ?”

“खोई ? यो समाज सानो भयो रे । यहाँको नीति, नियम हाम्रो लागि होइन रे ।”

“अनि हामी कता जाने बाबा ?”

“जहाँ पुग्छौ, त्यहीँ जान्छौं छोरी ।”

‘घुँक्क !’ घुँक्क !’ कुनामा कसैले चित्त दुखाएर आफ्नो मनमा उथल–पुथल भएको वेदना पोखिएको आवाज आयो । कालीबाले त्यतैतिर फर्केर भन्यो “काली आमा ! तिमी किन आफैं कमजोर बन्दै छौ ? तिमीले दिएको सामथ्र्यले म यहाँ टेकेर उभिएको छु भने तिम्रो कैलाशजस्तो उच्च र चौडा छातीलाई किन आफैं निच बनाउँदै छौं ?”

०००

ढाकरमाथिको भाले तेस्रोपल्ट बास्दा भञ्ज्याङ माथि ढाकर बिर्सियो । कालीबाले निधारको पसिना चोर औंलाले फ्याउरी लगाउँदै पारि गाउँतिर फर्केर हेर्यो । गाउँको शिरमा सूर्योदयले चुम्दै थियो । तलतिर गाउँ घरले भने सूर्यको आगमनलाई स्वागत गर्दै थियो । सल्लाघारीका सालहरूले निन्याउरो भएर बिदाइको संकेत गर्दै थियो । काली आमाले नि हातमा सानो नानी लिएर पारि हेरिन् । सायद उनको लागि त्यो सालघारी विस्मरण योग्य थिएन । कालीको बालाई भने पक्का पनि त्यो सालघारीदेखि मनभित्रबाट डाहा लागिरहेको थियो । भञ्ज्याङको चिसोले होला, काली आमाको हातको बच्चा ‘च्याँ…! च्याँ…!’ गर्यो । कालीबाले के भएछ भन्दै हेर्यो । काली आमाले नाक छाम्दै भनिन् ‘बाबाजस्तै छोरो ।’

‘बाबाजस्तै छोरो’ शब्दले कालीबाको मुटुमा चस्स सियोले हान्यो । ऊ बोल्दै बोलेन । त्यसपछि पो काली आमालाई लाज लागेर आयो । लाजले शिर निहुराइन् । काली जन्मँदा सधैँ ‘बाबा जस्ती’ भन्दा, अर्कोले ‘होइन आमाजस्ती’ भन्दै निकै बेरसम्म विवाद हुन्थ्यो । तर आज कालीबा र काली आमाको मुखमा त्यो हर्षित तर्क छैन । दुवै मौन छन् ।

पिठ्यूँमा ढाकर अडाएर कालीबाले अन्तिमपल्ट आफ्नो गाउँलाई हेर्यो । अनि निधारको नाम्लो सोझ्याएर आफ्नो बाटो ततायो ।
सबैभन्दा अगाडि कालीको आमा हातभरिको छोरो बोकेर बाटो लागिन् । त्यसपछि काली, कालीपछि बाख्राको पाठो र त्यो पाठो लखेट्दै पिठ्यूमा ढाकर बोकेर कालीबा पछ्याउँदै थियो ।

संसारको सबैभन्दा राम्रो ठाउँ रोज्नु पर्दा प्रायः सबैले आफू जन्मेको, हुर्केको र खेलेको ठाउँ नै रोज्छन् । आज त्यो प्राणपछिको प्यारो भूमि त्यागेर कालीबाको परिवार अनिश्चित यात्रामा निस्किएको छ । आज कालीबाको परिवारले न्याय गुमायो या त समाजले नै पायो, आफ्नो सबै चाहनाहरू समाजलाई समर्पण गरेर सानो घटनाले कालीबाको परिवारलाई एउटा अदृष्य गन्तव्यको मार्गमा धकेल्यो !

Nabintech