• ५ कार्तिक २०७८, शुक्रबार
दशैंको साँस्कृतिक यथार्थतामा नयाँ पुस्तालाई रमाउन दिऊँ

  • ठाकुर पोख्रेल

  • २६ आश्विन २०७८, मंगलवार ०७:२६

हामी नेपालीको साँस्कृतिक पहिचान नै विधिता हो । नेपाली समाजको बारेमा जानकार सबैले यहाँको विविधतामा जानकारी राखेको हुन्छ । विभिन्न चाड पर्वहरुजस्तै दशैं हामी नेपालीहरुको धार्मिक,साँस्कृतिक, सामाजिक एवम् पारिवारिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो । यसको धार्मिक , सामाजिक ,साँस्कृतिक ,ऐतिहासिक ,पौराणिक कथा किंवदन्ति तथा पारिवारिक एवम् आफ्नो कुल, जातीय परम्पराका आधारमा विशेषका आफ्नै कथा अनि जीवन भोगाइका पुर्खाका गाथा समेत प्रत्येक समुदायमा भेट्न सकिन्छ । हरेक जाति समुदायको आफ्नै मान्यता र परम्परालाई जीवन्त राख्दै लोक भाका, लोक संस्कार र लोक जीवनको मुल्यमान्यता तथा लोक संस्कृतिलाई समेत नयाँ पुस्तालाई चिनाउने काम समेत दशैंको अवसरमा हुँदै आएको छ तर पछिल्लो समेत नेपालको हरेक क्षेत्र र समुदायका मानिसमा लोक आचरण भन्दा फरक किसिमबाट दशैं पर्वलाई मनाउने गरेको पाइन्छ भने नयाँ पुस्ताले दशैंको वास्तविक रमाइलोको अनुभव र अनुभुति समेत गर्न पाएका छैनन् । दशैं आउनु भन्दा पन्ध्र दिन पहिले देखि घर लिपपोत गर्नका लागि माटाखानीमा माटो लिन जाने, रातो माटो, कमेरो माटो अथवा ठाउँ र उपलब्ध भएअनुसार राम्रो माटोको खोजीगरी घर सिंगार्ने, पात टिप्ने, दाउरा खोज्ने, चिउरा कुट्ने, धान कुट्ने, चामल पिस्ने आदिकामको चटारो नयाँ पुस्ताका लागि कथा बनेका छन् । दशैंको बेलामा बाटो खन्ने, बाटोघाटो सफा गर्ने समाजका सबै मिलेर गर्ने, दशैंमा दुर्गा मन्दिर, कोत घर, देउहार सरसफाइ लिपपोत सबै गाउँ समाजको सहभागितामा गर्ने मौका पनि नयाँ पुस्ताले कमै पाएका छन् । अहिलेको समाज पूर्ण रुपमा व्यक्तिवादी बन्दै गएकाले आफ्नै आफ्नो बाहेक अरुको त्यति मतलब छैन तर पुरानो पुस्ताको भोगाइ अलि फरक छ, साना केटाकेटीलाई समेत कसको घर को आयो रु कसको घरमा के पाक्यो रु थाहा हुन्थ्यो । लाहुरेहरु गाउँमा आउँदा गाउँमा सबैलाई थाहा हुन्थ्यो । लाहुरेहरुले पनि गाउँका सबै केटाकेटीलाई पुग्ने गरी मिठाइ तथा अन्य खाने कुरा ल्याउँथे तर अहिलेका केटा केटीलाई त्यो अवसर प्राप्त हुँदैन । अहिले दशैंमा कोतमा फूलपाती भित्राउने नव रात्रीको दिनको रमाइलो क्षण पुरानो पुस्ताको स्मरणमा ताजै भएको हुनु पर्छ । कोतमा उपवास बस्ने ,मालश्री गाउने बिहान पञ्चे बाजा बजाएर बढाइ गर्ने, साँझमा सबै जम्मा भएर भजन गाउने चलन पनि अहिले हराउँदै गएको छ । ती रमाइला अवसर अहिलेका बालबालिकाले देख्न पाएका छैनन् । दशैं आउनु भन्दा एक महिना पहिले गाउँका युवाहरु पिङ बनाउने काममा लाग्थे । जिउरे पिङका लागि खर काट्ने, रसी बाट्ने, चर्खे पिङ, रोटे पिङ का लागि काठ काट्ने, सिपालुहरु बनाउने काममा लाग्ने जस्ता काममा लाग्ने घटस्थापनाका दिनबाट खेल्न सुरु गर्ने अनि पिङ खेल्दाको रमाइलो अनुभुति अहिलेको पिंढीलाई प्राप्त छैन । समयको फेर बदलसँगै प्रविधिको विकास भएको छ, सबैको घरमा टेलिभिजन छन्, सबैका हातमा मोबाइल छन् ,इन्टर नेट सुविधा छ । सबै आफैमा रमाएका छन्, एउटै घरमा एउटै कोठामा बसेर पनि बोल्ने फुर्सद छैन, सबै इन्टर नेटमा व्यस्त छन् । दशैंको बेलामा कला र गलाका पारखीहरु पनि कलामा रमाउने मौका मिल्थ्यो । कलाकारहरुले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रम देखि लिएर रामायण तथा महाभारत, देविभागतमा आधारित एवम् अन्य पौराणिक कथामा आधारित नाटकहरु गाउँ गाउँमा देखाउने चलन थियो । विभिन्न पौराणिक पात्रको भेषभुषमा आधारित भएर सजिसजाउ रुपमा प्रस्तुतिले सबैलाई मोहित पार्दथे । अहिले दशैं भनेपछि मासुको बढी प्रयोग गर्ने अर्थात घरमा खसी काट्ने कुराले महत्व राख्दछ तर पहिले सेल लगायत विभिन्न रोटी बनाउने चलन थियो । दशैंमा विद्यार्थीहरुको लागि पनि लामो विदा पर्ने भएकाले सबै काममा केटीकेटी सहभागि हुने सिप सिक्ने तथा रमाउने मौका पाउँथे । तरकारी तथाफलफुल पनि आफ्नै गाउघरका भएकाले रसिला हुन्थे अहिले जस्तो पेटभरि खान पनि विषादीको त्रास थिएन । दशैं आउला खाउँला पिउँला भन्ने गीत केटाकेटीको ओंठमा महिनौं देखि आइरहन्थ्यो । दशैंमा मावल जाने, गाउँमा वल्लो घर पल्लो घरमा सबै केटाकेटीहरु टिका लगाउने प्रसाद खाने कुरामा कसैको घर बिराउँने चलन थिएन । बुढा पाका भएको घरमा गाउँका सबै टीका लगाउन आउने हुँदा जेष्ठ नागरिकको लागि पनि मान्यता र सम्मान क्षण दशैंको दिन हुन्थ्यो । अहिलेका पिंढीलाई त्यस्तो अवसर छैन । दशैंको दिन तराइ मधेशमा त झन बढी रमाइलो हुने ठाउँ हो । अहिले दुर्गा पूजाको लागि ताम झाम चलेको देखिन्छ , पहिले थारु समुदायमा झुमराको विशेष तयारी हुन्थ्यो । ढिकरी चढाउने र बली दिने आदि काममा केटाकेटीका लागि गाउँमा छुट्टै रौंनकता हुन्थ्यो । दशैंको दिन बडघरको घरमा, गुरुवा घरमा टीका लगाउने चलन थियो । नदीमा देउता पितर सेलाउन जाने अनि झुमरा नाच नाच्दै नदीमा जाने अनि गाउमा आएर झुमरा नाच्ने कामको रमाइलोपनको अनुभव नयाँ पुस्ताले पाएका छैनन् । उता पहाडी समुदायमा पनि फुलपाती, कालरात्री अनि फलपाती सेलाउन जाने दिनको साराएँ नाचको रौनकतालाई जगाउन प्रयास गरेपनि त्यसमा वास्तविक रौनकता हराउँदै गएको छ । कोतमा पाठा र राँगा काट्दा अनि धामी काँपेर हल्लिंदा अध्यात्मिक चिन्तनको पुष्टि लाग्थ्यो तर अहिले त्यो सजिवतामा कमी छ ।
प्रविधिको विकास मानिसका पेशा व्यवसायको फरकपन अनि बसाई सराइको कारण समाजमा एउटै जाति समुदायको बसोबास छैन । चाहेर पनि आफ्नो कुलपरम्परा र जातीय संस्कारलाई जीवन्त राख्न गाह्रो छ । गणतन्त्रमा दशैं पर्वलाई पनि जाति विशेषको पर्वको रुपमा परिभाषित गर्ने गनगन हाम्रा नेताहरुले निकाले पनि दशैंले सबै जाति, समुदाय ,वर्ग र उमेरका नेपालीहरुलाई कुनै न कुनै रुपमा छोएको हुन्छ । दशैं खर्च र तामझामका हिसाबले भड्किलो बन्दै गएपनि यसको वास्तविक मर्मबाट टाढा गएको छ । दशैंको वास्तविक उल्लास, रमाइलो ,सजिवता,भन्दा पनि कृतिमता बढेकाले दशैंको रौनकता र रमाइलोमा नयाँ पुस्ताले रमाउन पाएका छैनन् । पहिचानको कुरा उराल्ने ,भाषणमा संस्कृतिको जगेर्ना गर्ने भन्दै चुनावी नारा बनाए पनि सरकारी निकायबाट यस्ता विषयमा ध्यान दिएको पाईंदैन । स्थान र समुदाय अनुसार हरेक चाडपर्वलाई फरक किसिमबाट मनाउनु नेपाली विशेषता हो । हाम्रो संस्कृति समग्र नेपाल र नेपालीको संस्कृति हो । संस्कृति हाम्रा पुर्खाको नासो हो । आधुनिकताको नाममा पुर्खाको नासो नेपाली संस्कृतिमा विकृति नभित्राउँ, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग साक्षात्कार हुने अधिकारबाट बञ्चित नगरौं । नयाँ पुस्तामा हस्तान्तरण नगरिएको सस्कृति लोप भएर जान्छ । सबै नेपालीको साँस्कृतिक पहिचान भित्र हाम्रो अस्तित्व लुकेको हुन्छ ।

Nabintech