• ५ आश्विन २०७८, मंगलवार
पत्र साहित्य : साथीलाई चिठी

  • टीएन भट्ट 'विश्वामित्र'

  • ६ चैत्र २०७७, शुक्रबार २२:५२

प्रिय साथी,
नमस्कार ।

आज २० वर्षपछि म कसैलाई चिठी लेख्दै छु भने त्यो तपाईंलाई हो । स्कुले जीवनमा लहडमै केही थान प्रेमपत्र लेखियो, परन्तु ती प्रेमपत्रहरूले सिरानीको न्यानो मायामुनि नै देह त्याग गरे । त्यतिबेला म्यासेन्जर हुन्थ्यो भने मेरो मनको आवाज शब्दका माध्यमबाट उनीसम्म पुग्थे, कि धुलाई भेटिन्थ्यो कि माया ! अचेल ती दिनहरू प्यारा लाग्छन् मलाई । प्रिय लाग्छन् विगतप्रतिका अनुरागहरू ! काठमाडौं आएपछि आमाबुबालाई चिठी लेखियो । राम्रा अक्षरमा चिठी लेखेन भनेर बा करकर गर्नु हुन्थ्यो । बस्, गाउँमा फोन आएपछि त एउटै कुरा मात्र भो, मतलब चिठी लेख्ने कला कक्षाकोठामा मात्र सीमित भो । नानीहरूलाई कसरी चिठी लेख्ने भनेर त सिकाइयो, तर त्यसपछि चिठीचाहिँ लेखिएन । त्यसपछिको पहिलो चिठी यही हो ।

तपार्इंलाई ‘नमस्कार’ भन्दा मात्र पनि एक प्रकारले शीर ठाडो हुन्छ मेरो । मतलब, यो हाम्रो नमस्कारको संस्कृचि विश्वव्यापी भएको छ । आफ्नो उत्पादन संसारभर ब्राँडेड हुँदाको खुसी शब्दमा वयान गर्न कठिन हुने रहेछ । म त्यति खुसी मेरो उपन्यास ‘डेडसुक्रबिर’को सफलतामा पनि भएको थिइन । ट्रम्पले समेत नमस्कार गरेर दुई हात जोड्दा, हाम्रो सभ्यताको जित भएको अनुभूति हुन्छ । आहा ! कस्तो आनन्द ।
आज तपाईंको याद आयो । तपाईंका परिवारको पनि याद आयो । आत्मीयताको भूगोल नहुने रहेछ । ‘जति टाढा त्यति माया गाढा’ हुने रहेछ ! त्यहाँ त सरकारले अझै पनि लकडाउन गरेको छैन भन्ने सुनेको सुन्छु । कहिलेकाहीँ मृत्यसँग पनि खेलबाड गर्ने शासकहरू देख्दा दया लाग्छ । यो कोरोनासँगको युद्ध भियतनाममा सेना पठाएजस्तो, इराकका तेलका कुवाहरूमा बम खसाले जस्तो र सिरियालाई हतियारको प्रयोगशाला बनाएजस्तो हैन । यो हिरोसिमा र नागासाकीमा गरेको नरसंहार भन्दा फरक हो किनकि त्यो युद्धमा आदेश दिनेहरू बाँचे । आदेश मान्नेहरू मरे । मारिए । तर यो कोरोनाको युद्धमा स्वयम् शासकहरू समेत भाइरसको निशाना बन्न सक्छन । हरे ! यो पाठ तिनीहरूलाई कसले पढाइदिने होला ? अनायासै फिस्स पर्छन् मेरा ओँठहरू । जे भए पनि जीवन भन्दा ठूलो अर्को सौभाग्य हुन सक्दैन । साथी, आफ्नो ख्याल गर्नु होला ।

म यो समय लोकन्थलीको कोठाको झ्यालबाट बाहिर नियालिरहेको छु । बाहिर निस्कन मनाही छ । सडक सुनसान लम्पसार परेर आराम गरिरहेको छ । हिजोअस्तिसम्म सडकको छातीमा हतारिँदै दौडने खुट्टाहरू अचेल कोठाभित्रै कैद छन् । हजारौं यातयातका साधनहरू ग्यारेजभित्रै मस्तनिद्रामा छन् । केही समय भए पनि सडकले शान्ति पाएको छ । बाहिर धुलो छैन, धुवाँ पनि छैन । अलिअलि चिसो र स्वच्छ हावाको अनुभूति पनि भएको छ । पसलहरू बन्द छन् । स्कुलहरू बन्द छन् । कलेजहरू बन्द छन् । कलकारखाना सबै सबै बन्द छन् । मतलब हामी ‘लकडाउन’ को अनौठो अनुभव गरिरहेका छौं । सानो छँदा गाउँमा आमाले भन्नु हुन्थ्यो ‘अँध्यारोमा गुजी आउँछ, भित्रै बस ।’ आज दिउँसै ‘गुजी’ आएको अनुभूति भइरहेको छ । म मेरा छोराछोरीलाई त्यही वाक्य दोहोराउन बाध्य छु ‘नानीहरू बाहिर, कोरोना छ, भित्रै बस । यस्तो लाग्दै छ, बाहिर कोरोना नामक राक्षस ठूलो मुख बनाउँदै कुदिरहेको छ । जसलाई भेट्छ उसलाई खाइदिन्छ । मित्र, त्रासभित्रको जिन्दगीका अनुभव अनौठा हुँदा रहेछन् ।

तपाईंलाई चिठी लेख्दालेख्दै मेरी ८० वर्षकी आमाको फोन आयो गाउँबाट । उहाँले भन्नु भयो ‘बाबु बाहिर ननिस्क है । लसुन, टिमुर, बेसार, अदुवा मिलाएर तातो पानी खाउ ।’ आमा जति मेरा लागि चिन्तित हुनुहुन्छ, म मेरा छोराछोरीप्रति त्यत्ति नै चिन्तित छु ।

संसारमा हजारौं मान्छेले ज्यान गुमाइसकेका छन् । मृत्युको समचार अपडेट भइराखेको छ । यस्तो लाग्छ, कोही मृत्युको कमेन्ट्री गरिरहेको छ र मृत्युको खेल हामी बाँचेकाहरु हेरिरहेका छौं । थाहा छैन को कतिबेला त्यो खेलमा सहभागी हुने हो । मलामी पनि भाग्यमा नहुने त्यो मृत्यु साँच्चै भयानक छ । आँसु पनि बगाउन नपाउने त्यो मृत्यु साँच्चै क्रूर छ । सामान जस्तै प्लास्टिकमा पोको परेको लास कसले पोल्छन्, कसले गाड्छन् थाहा छैन । मित्र, जन्मेपछि मर्ने कुरा शाश्वत छ । तर यस्तो भयानक मृत्यु ! कसैले भोग्न नपरोस् भनेर गुमनाम भगवान्को नाम जप्नुबाहेक अर्को विकल्प पनि छैन । म कहिलेकाहीँ सोच्छु– भगवान् भइदिएको भए आफ्ना सन्तानहरूको यस्तो वीभत्स मृत्यु देख्न सक्थे होलान् र ? आइसोलेसन वार्डमा रोइरहेकी आमा र सिसाबाहिर रोइरहेको दुधेबालकको दयनीय अवस्था देखेर भगवान् रुँदैनन् होला ? यस्तो अवस्थामा नरूने भगवान्, यस्तो अवस्थामा टुलुटुलु हेरेर मृत्युको ताण्डव नृत्य हेर्ने भगवान्, म छन् भनुँ कि छैनन् भनुँ दोधारमा छु । हुन त, प्रकृतिलाई भगवान् मान्ने हामी, प्रकृतिलाई नै विनास गर्दाको परिणामबाट बिमुख छैनौं । मान्छेहरू ‘जस्तो करणी, त्यस्तै भरणी’ भनेर पनि भन्छन् । यदाकदा लाग्छ, प्रकृतिमाथिको निर्मम व्यवहारबाट सृजना भएको पो हो कि यो भाइरसको ताण्डव नृत्य ! जेहोस्, मृत्यु हाम्रो अगाडिबाटै कुदिरहेको छ, हामी यो मृत्युको दौड नजिकबाट नियालिरहेका छौं ।

साथी, म अहिले पनि तपाईंलाई सम्झिरहेको छु । हामीले सँगै बिताएका पलहरू मेरा आँखामा वर्तमान भएर नाचिरहेका छन् । हामीले विद्यालय, विश्वविद्यालयमा पढाएका हजारौं भाइबैनीहरू स्वघोषित क्वारेन्टाइनमा छन् । उनीहरू पनि त्यही त्रासदीबाट गुज्रिरहेका छन् । हामी यही प्रार्थना गर्न सक्छौं ‘कसैलाई केही नहोस् ।’ खेल सुरू भएपछि त्यसको अन्त्य पनि निश्चित समयमै हुन्छ । आशा गरौं, यो खेलको अवधि छोटो होस् । पुनः ती सुन्दर फूलहरूलाई कक्षाकोठामा झुलाउन पाइयोस्, फुलाउन पाइयोस्, ‘क’ बाट कछुवा, ख खरायो हुन्छ’ भनेरै पढाउन पाइयोस् । कबाट कोरोना हुँदैन भनेर बताउन पाइयोस् ।

जेहोस्, खराब चिजमा पनि सुन्दर पक्ष लुकेको हुन्छ भन्ने कुरा कोरोनाको महामारीले पनि सिकाएको छ । हाम्रो आनीवानी सुधारिएको छ । बेलाबेलामा हात धुन जानिएको छ । परिवार के हो ? यसको महत्व कस्तो हुन्छ ? पारिवारमा एकले अर्कालाई कसरी सहयोग गर्ने भन्ने चेतनाको मात्र विकास भएको छैन वास्तवमा संसारभरिका मान्छेहरू समान हुन् र संसार एउटा घर हो भन्ने कुरा पनि मानवजातिले सिके कि जस्तो भान भएको छ । हाम्रो पूर्वीय दर्शन ‘वसुधैव कुटुम्बकम्’को आदर्श हाम्रा पितापुर्खाले त्यत्तिकै विकास गरेका रहेनछन् र हाम्रो पूर्वीय सभ्यता कति मानवतावादी रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ । पैसालाई मात्र महत्व दिने यो भौतिक संसारमा अलिकति भए पनि मानवता ठूलो हो भन्ने भावनाको विकास भएको छ । पैसाले मृत्यु किन्न सकिन्न भन्ने चेतको विकास भयो भने यो संसार सुन्दर बन्नेछ । आशा छ, यो भाइरसले विश्वलाई नै आतङ्कित बनाए पनि यो महामारीपछि हाम्रो विश्वव्यापी चिन्तन, राजनीति, सामाजिक तथा आर्थिक आयाममा केही सकरात्मक परिवर्तन हुनेछन् र यसले मान्छेलाई वास्तविक मानव बन्नको लागि सकरात्मक सन्देश दिनेछ ।

अहिले हामी घरभित्रै छौं । घरभित्रै बसेर कोरोनाको मानसिक तनावबाट छुट्करा पाउन विभिन्न किसिमका क्रियाकलापमा व्यस्त छन् साथीहरू पनि । हिजो राजेशजीले फोन गर्नु भयो । २०० वर्षदेखि एकआपसमा मिलेर वसेका नेपालीहरूलाई पहाडी र मधेसीको नाममा कसरी विभक्त गरियो ? कसरी विस्थापित गरियो ? हिजो सँगसँगै गुच्चा खेलेका हातहरूलाई कसरी छुट्टाइयो ? एउटै भैँसीमाथि चढेर सँगसँगै वनविहार गरेका साथीहरूलाई कसरी विभाजन गरियो ? एउटै थालमा साटासाट गरिएको मायालुमनहरुलाई कसरी फटाइयो ? यस्तैयस्तै प्रश्नको उत्तर खोज्ने र अन्य सृजनात्मक काममा हाम्रो सेल्फ क्वारेन्टाइन बितिरहेको छ । तनावलाई कम गर्ने एउटा उत्तम उपाय पनि रहेछ साथी यो साहित्य ।

कोरोनाको सङ्क्रमणबाट बचाउन सरकारले पनि हदैसम्मको प्रयास गरेको छ । देश गरिब भए पनि नेपालीहरूको मन विशाल छ मित्र । भर्खरै कोरियाबाट नेपाली साथीहरूले आफ्नो गास काटेर भए पनि केही थान किटको व्यवस्था गरेको समाचार बाहिर आएको छ । मित्रराष्ट्र चीनबाट पनि भर्खर आवश्यक सामानहरू आएको समाचार छ । प्रहरी, प्रशासन र डाक्टर–नर्सहरू आफ्नो समेत ख्याल नगरी दिनरात काममा लागिपरेका छन् । यस्तो अवस्थामा पनि केही नीतिगत भ्रष्टचारका कुरा मिडियामा आएका छन् । थाहा छैन, त्यसमा कत्तिको सत्यता छ । यस्तो विकराल स्थितिमा पनि कोही पैसा थुपार्ने काममा लाग्ला र ? यस्तो बेलामा पनि कोही मृत्युको व्यापार गर्ला र ? यस्तो बेलामा पनि कोही कात्रोमाथि भ्रष्टाचार गर्ला र साथी ? खै, मलाई विस्वाश लाग्दैन तर सुन्दा मन अमिलो भएर आउँछ, चित्त फाटेर आउँछ । मान्छे धनी–गरिब जे भए पनि आखिर मृत्यु त समानै रहेछ, हैन साथी।

चिठीमार्फत् मनको वह पोख्दा मात्र पनि हल्का हुनेरहेछ है !

मित्र, तपाइँ समुद्रपार हुनुहुन्छ । हामी ठीक विपरीत गोलार्धमा छौं । नक्सामा गोलार्ध फरक भए पनि मनको गोलार्ध फरक नहुने रहेछ । मन भन्दा विशाल, मन भन्दा नरम, मन भन्दा नजिक के हुने रहेछ र ? यही मनभित्रको मन्दिरमा तपाईं हुनुहुन्छ, तपाईं जस्तै हजाराैं मनहरू छन् । ती मनहरूको सुस्वास्थ्यको कामना गर्दछु । तपाईं बसेको त्यो गोलार्धमा झन् धेरै मान्छेहरू सङ्क्रमित भएका छन् । धेरै मान्छेहरू हामीबाट बिदा भएका छन् । कहिलेकाहीँ अचम्म लाग्छ– संसार थर्काउन सक्ने वादशाह होस् वा जैविक र रासायनिक हतियार बनाएर संसारलाई त्राहीमाम बनाउने शासकहरू, मृत्युको भय सबैलाई हुने रहेछ । पैसा र शक्तिको घमण्ड कोरोनाको अगाडि लुते कुकुरजस्तै लतारिएको देख्दा, मलाई अमेरिकी कवि अथर ग्वाइटरम्यानको कविता ‘अन द भ्यानिटी अफ् अथ्र्ली ग्रेट्नेस्’ को एकलाइन याद आउँछ– ‘ग्रेट सिजरको शालिक, स्वयम् तखतामा छ, म के नखरा गरौं ।’

मित्र आजलाई यत्ति ! दीर्घ जीवनको शुभकामना ! जो जहाँ भए पनि यो युद्ध सँगसँगै लड्ने वाचासहित ।

तपाईंको मित्र

Nabintech