• १ असार २०७८, मंगलवार
परिक्रमा : आस्थाको अद्भुत संगम

  • रामभरोस कापडि ‘भ्रमर’

  • ७ चैत्र २०७७, शनिबार ११:१६

परिक्रमा : आस्थाको अद्भुत संगम

एक जना मित्रले प्रश्न गरे– तपाईं अध्यात्मलाई कसरी लिनुहुन्छ ?

विना कुनै हिच्किचाहट मैले भनें– यो मेरो जीवन र आस्थासँग जोडिएको विषय हो । जीवनमा आउने सुखद् वा दुःखद् क्षणमा यो मसँगै टाँसिएर बस्छ । आफ्ना आराध्यदेवप्रतिको यो आस्थाले मलाई केही गर्न निरन्तर उत्प्रेरित गर्दछ । मनलाई शान्ति प्रदान गर्छ ।

हो, आफ्नो आस्थास्वरुप मानिस अनेकौं काम गर्दछन् । यो आस्था व्यक्ति–व्यक्तिमा फरक हुन सक्दछ । कुनै परिवार, समाज, राष्ट्रप्रति हुन सक्दछ ।

तर जब भक्तिको कुरा आउँछ, यो अन्य सबै खालेभन्दा फरक हुन जान्छ– आराध्यदेवप्रतिको समर्पण भावबाट प्राप्त हुने आस्था । र यसको लागि पनि निरन्तर भजन–कीर्तन र दर्शन–पूजामा लागिरहने मानवीय प्रवृत्तिले आत्मसुखको अनुभूति गराउँछ ।

यसको लागि श्रद्धालु सयौं–हजारौं माइल यात्रा गरी पुग्ने गर्दछन् । त्यतिकै मात्र हैन नेपाल–भारतका विभिन्न भागमा रहेका आस्थाका मन्दिरहरूमा दिनहुँ लाखौं श्रद्धालु दर्शनार्थी पुग्ने गर्दछन् । यसमा समय र धन दुवैको खर्च हुन्छ ।

तर श्रद्धालु जब तीर्थयात्राबाट घर फर्कन्छन् त्यसले कुनै ठूलो सम्पत्ति आर्जन गरेको सुखानुभूति गर्दछन् । मनमा शान्ति र कार्यमा उत्साह थपिन्छ । आध्यात्मिक आस्थाको यो सबैभन्दा प्रबल पक्ष हो ।

यस्तै आध्यात्मिक आस्थाको कठोर अनुष्ठान हो, जनकपुरधाम अर्थात् तत्कालीन मिथिलाको परिक्रमा । जहाँ लाखौं पदयात्री नांगै खुट्टा रामनाम जप्दै आफ्ना आराध्यदेवको भक्तिमा लीन हुन पुग्दछन्– ‘मन मिथिला झूमे रसिक रसिया’ !

परिक्रमाको शुरुआत सम्बन्धमा प्रामाणिक दस्तावेजको अभाव छ । तर अहिलेसम्म विष्णु पुराणमा उल्लिखित मिथिला महात्मकै आधारमा यसको प्रारम्भ आचारी बाबाले गरेको भनिएको छ । पछि उहाँका शिष्य कचुरी मठका महन्थ लाखीशरणले परिक्रमालाई व्यवस्थित गर्दै चलाए ।
कैलाशको एक प्रसंगमा गणेश र कार्तिकेयबीच भएको संसार घुम्ने प्रतियोगितामा गणेशद्वारा आफ्ना माता–पितालाई विश्व मानी परिक्रमा गरेको प्राचीन उदाहरण हाम्रो अगाडि रहेको छ ।

००० ०००

जनकपुरधाममा हुने परिक्रमा पहिला तीन थरीका हुन्थे । पहिलो बृहत्, दोस्रो मध्यम र तेस्रो अन्तरगृह । बृहत् विष्णु पुराणअन्तर्गत मिथिला महात्ममा परिक्रमाबारे विस्तृत वर्णन गरिएको छ । त्यसै आधारमा बृहत् कोशीमा स्नान गरी गंगाछेउ हुँदै हिमालय (सम्भवतः पहाडकै लागि प्रयोग भएको शब्द हुनसक्दछ) को तल तीर हुँदै यात्रा गर्नुपर्दथ्यो । यो निकै लामो दूरीको र त्यस समयको लागि संकटपूर्ण हुन्थ्यो ।

त्यसपछि मध्यम परिक्रमा जसलाई बिहारको कल्याणेश्वरबाट प्रारम्भ गरी नेपाल–भारतका विभिन्न स्थानमा घुम्दै पुनः कल्याणेश्वरमा आई यात्राको समाप्ति हुन्थ्यो । अन्तिम अन्तरगृह परिक्रमा हुन्थ्यो, जो जनकपुरधाममा अवस्थित जानकी जन्म स्थानको परिक्रमा– जो एक दिनको हुन्थ्यो ।

००० ०००

बृहत् परिक्रमा राज्यको, मध्यम राजधानीको र अन्तरगृह राजदरबारको हुन्थ्यो । प्रारम्भिक समयमा परिक्रमाको बृहत् र मध्यम पथ कठिन घनाजंगल र खतरनाक पशुहरूको वासस्थान भएर जानुपर्दथ्यो । पछि समय अनुसार यसमा सुधार हुँदै गयो र अहिले दुईस्तरको परिक्रमा मात्रै हुने गर्दछ– मध्यम र अन्तरगृह ।

जनकपुरधामको चारै कुनामा मंगलकामनाका प्रतीक भगवान शिवका सिद्ध मन्दिरहरू– कल्याणेश्वर, जलेश्वरनाथ, क्षीरेश्वरनाथ र सप्तरेश्वर महादेव रहेका छन् । यिनै महादेव मन्दिरहरूको दर्शन र प्रदक्षिणाका साथ परिक्रमा गरिने चलन रहेको छ ।

एउटा परिक्रमा १५ दिनको हुन्छ भने अर्को एक दिनको । १५ दिने मध्यम परिक्रमाले नै अहिले निकै महत्व पाएको छ, जसमा लाखौं श्रद्धालु नांगो खुट्टा जनकपुरधामलाई केन्द्र मानी वृत्ताकार रूपमा परिक्रमा गर्दछन् । परिक्रमा भरी एक छाक शुद्ध खाना खाने गरिन्छ । पूर्ण सात्विक भई पालमा बस्नुपर्ने हुन्छ ।

मध्यम परिक्रमा

फागुन औंशीदेखि औपचारिक रूपमा शुभारम्भ हुने यो परिक्रमा कचुरी मठबाट मूल मिथिला बिहारीको डोला उठाएर रत्नसागरमा लगिन्छ । त्यसपछि जानकी मन्दिर र त्यहाँ विधि–व्यवहार सम्पन्न गरिसकेपछि जनकपुरधाम नजिकै कुवामा रहेको हनुमानगढी (हनुमान मन्दिर) मा पुर्‍याइन्छ । शुभकार्य प्रारम्भ गर्दा हनुमानको आशीर्वाद लिने चलन अनुसार यहाँ बास बस्ने र भजन–कीर्तन गर्ने चलन चलाइएको हुन सक्दछ ।

त्यहाँबाट प्रतिपदाको दिन डोला कल्याणेश्वर जान्छ । परिक्रमामा मूल डोला कचुरी स्थानको मिथिला बिहारीको हुन्छ भने सहायक डोला रसिक निवासको किशोरीजीको । त्यसपछि अनेकौं मठ–मन्दिरका डोला, संंकीर्तन मण्डलीहरू पदयात्रामा रमाइलो गर्दैै राम–नाम कीर्तनमा मग्न हुँदै जाने गर्दछन् ।

दोस्रो दिन गिरिजा स्थान (जसलाई फूलहर पनि भनिन्छ) पुग्दछ । यहाँ प्रत्येक दिन सीताजी फूल टिप्न आउने गर्नुहुन्थ्यो भन्ने जनविश्वास छ ।

तेस्रो दिन राम–सीता विवाहको लागि मैथिल विधि अनुसार हुने मटकोरको लागि माटो ल्याउने ठाउँ मटिहानी, चौथो दिन पानी भित्र वास बस्ने गरेका महादेवको मूर्ति भएको ठाउँ जलेश्वर, पाँचौं दिन शिव मन्दिर भएको ठाउँ मडई, छैटौं दिन भगवान भक्त ध्रुवको तपस्या स्थल ध्रुवकुण्ड, सातौं दिन भगवानले रंग खेल्नुभएको स्थल कंचनवन, आठौं दिन क्षीरेश्वरनाथ महादेवको दर्शन गर्दै यात्रा टोली पर्वतमा बास बस्दछन् ।

त्यस्तै नवौं दिन सीता स्वयंवरमा रामद्वारा तोडिएको शिवधनुषको एउटा खण्ड रहेको पवित्र स्थल धनुषाधाम, दशौं दिन सप्तऋषि भएको स्थान सतोषर, एघारौं दिन औरही–औरसाहा, बाह्रौं दिन करुणा र तेह्रौं दिन कल्याणेश्वरमा पुगिन्छ ।

त्यहाँ आफैंले कतै राखेका चिनो मेटाउने काम पनि गरिन्छ । त्यहाँबाट जनकपुर आउने चौधौं दिनमा विश्वामित्र मुनिको आश्रम रहेको स्थान विसौलमा रात्रिबास हुन्छ ।

पन्ध्रौं दिन जनकपुरधाममा आई गंंगासागरको पश्चिमी डिलमा मूल र सहायक डोलाको वास हुन्छ, सहयात्री लाखौं श्रद्धालु आ–आफ्नो सुविधा अनुसार आफ्नो घरबाहेकका स्थानमा रात्रिवास बस्दछन् । यो पन्ध्र दिने परिक्रमाको चक्र बिहानपख प्रारम्भ हुने अन्तरगृह परिक्रमामा सामेल भएपछि मात्र पूरा हुने गर्दछ ।

अन्तरगृह परिक्रमा

गंगासागरलगायत पवित्र पोखरीमा स्नान गरी अन्तरगृह परिक्रमा शुरू गर्ने पन्ध्र दिने परिक्रमावासीका अतिरिक्त सामान्य श्रद्धालुहरू आ–आफ्नो सुविधा अनुसार स्नान गरेर अन्तरगृह परिक्रमा गर्दछन् । यसमा पनि लाखौंको सहभागिता हुन्छ जो बिहान २–३ बजेदेखि प्रारम्भ भई ११–१२ बजेसम्म निरन्तर जारी रहन्छ ।

पूर्णिमामा हुने यो अन्तरगृह परिक्रमाको दोस्रो दिन मिथिलाञ्चलमा होली पर्व मनाउने चलन छ ।

००० ०००

परिक्रमाको शुरुआत सम्बन्धमा प्रामाणिक दस्तावेजको अभाव छ । तर अहिलेसम्म विष्णु पुराणमा उल्लिखित मिथिला महात्मकै आधारमा यसको प्रारम्भ आचारी बाबाले गरेको भनिएको छ । पछि उहाँका शिष्य कचुरी मठका महन्थ लाखीशरणले परिक्रमालाई व्यवस्थित गर्दै चलाए । त्यस कारण पनि आजसम्म मुख्य डोला कचुरी मठको नै हुने गर्दछ ।

शुरूमा यो पाँच दिनको हुन्थ्यो । सोतीमठका सीताप्रसाद र बराही मठका सुरदास नामक दुई साधुले मिथिला महात्मको आधारमा जब बाटो पत्ता लगाई परिक्रमा शुरू गरे तब यो पाँच दिनकै थियो– कल्याणेश्वर, गिरिजा स्थान, क्षीरेश्वरनाथ, धनुषाधाम र पुनः कल्याणेश्वरमा पूर्णाहुति । जब यो शुरू भयो, मात्र केही साधुसन्त सहभागी हुन्थे ।

बाक्लो जंगल र जंगली जनावरको डरले गृहस्थ जान चाहँदैनथे । र यो डरले परिक्रमा बन्द पनि भयो । पछि जनकपुरधामस्थित सीता कुण्डका रामदास अचारी नामक साधुको सत्प्रयासबाट स्थानीय र प्रवासी साधुहरू संंगठित गरी घुम्न लगाइयो । पछि सुरक्षा प्रबन्ध पनि मिलाइयो । गाजा–बाजाको प्रबन्ध पनि गरियो । यो क्रम दशकौंसम्म चल्यो ।

पाँच दिनको परिक्रमालाई रामानन्दीय वैष्णव सम्प्रदायका साधुहरू सीतामढीबाट आएका स्थानीय ज्ञानकुप निवासी सिद्ध साधु प्रेमलताको नेतृत्वमा यसलाई विक्रम सम्वत् १९६४ मा पन्ध्र दिवसीय बनाइयो । प्रेमलताले ५० जना साधुसन्तबाट शुरू गराएको यो परिक्रमालाई आफ्नो संगठन क्षमताबाट गृहस्थहरूलाई पनि यसमा सामेल गराए । आज यो परिक्रमामा भक्तिभावले सामेल हुनेहरूको संख्या लाखौं पुगेको छ ।

००० ०००

मध्यम परिक्रमा पथ १३० कि.मि. रहेको छ । भारतमा ३३ कि.मि. र नेपालमा ९७ कि.मि. । पन्ध्र दिनमा प्रति दिन तीन–चार घण्टा मात्र हिंडेर अर्को आवासमा पुग्न सकिन्छ । बाटोको व्यवस्थापन नहुँदा खेत, कमजोर र बालुवाले भरिएका सडकबाट हिंड्नुपर्ने बाध्यता रहेको छ ।

यात्रीहरूलाई सहज बनाउन वासस्थानहरूमा धर्मशाला, शौचालय र खानेपानीको उचित प्रबन्धबारे अनेकौं योजना प्रस्तावित रहेका छन् । अहिले यसको सामान्य रूपमा व्यवस्था हेर्ने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ अर्बको योजना केन्द्रमा पठाए पनि त्यो स्वीकृत भने हुनसकेको छैन । विद्युत्, खानेपानीको व्यवस्था बृहत्तरले गर्ने प्रयास गरे पनि त्यो हजारौंको वासस्थलको लागि पर्याप्त हुनसकेको छैन ।

जनकपुरधामभित्रको अन्तरगृह परिक्रमा पक्की बनाइसकिएको छ । पन्ध्र दिने परिक्रमाको नेपालतिरको ९७ कि.मि.को लागि पटक–पटक योजना बनाइए पनि कार्यान्वयन हुनसकेको छैन । अब प्रदेश सरकारले यो सडकलाई आफ्नो योजनामा राखेर अगाडि बढाउन सके आध्यात्मिक र आस्था धारकहरूको विशाल यात्रा पथलाई धार्मिक पर्यटनको लागि पनि आकर्षक बनाउन सकिन्छ ।

फागुन आउँदै होलीको शुभारम्भ मानिन्छ, तर यसपालि यो चैतमा पर्ने भएकोले परिक्रमाको शुरुआत औपचारिक रुपमा कंचनवनबाट हुने विश्वास गरिएको छ ।

विशेष परिक्रमा

१५ दिने परिक्रमा चलेको ४० वर्षपछि केही साहसी धर्मानुरागीहरूले फेरि २००४ सालमा मिथिला महात्मकै आधारमा पाँचदिने परिक्रमाको शुरुआत गरे, जसलाई पञ्चायणी परिक्रमा भनिन्छ । यो पर्सा–पतैलीका कुलानन्द झाद्वारा प्रारम्भ गरिएको थियो । यो परिक्रमा सप्तमीदेखि शुरू गरी द्वादशीका दिन समापन गरिन्छ ।

पाँच दिनको वासमा कल्याणेश्वर, गिरिजा स्थान, जलेश्वर, क्षीरेश्वर, धनुषा र फेरि कल्याणेश्वर पुग्दछन् । अन्तरगृहमा पनि मात्र कुण्ड, सरोवरहरूको प्रदक्षिणा गरी परिक्रमा चक्र पूरा गरिन्छ ।

Nabintech