• ५ कार्तिक २०७८, शुक्रबार
लघुकथा:(पापी पत्रकार)

  • सुमित्रा न्याैपाने

  • ५ आश्विन २०७८, मंगलवार ०७:५९

“गरिवकाे घरमा चुलो बलेन” शिर्षककाे समाचार छापिएपछि एक हुल मानिसहरू जुर्मुराएर उठे । जताततै राहत बटुल्ने होडबाजि नै चल्यो । कसैले पैसा उठाएर दिए । कसैले कपडा जम्मा पारे । कसैले खाद्यान्नकाे जाेहाे गरिदिए । कसैले चुहिने खरकाे छानाे फेरेर टिन हालिदिए । एउटा सानो आमाछाेरीकाे परिवारले सन्तोषकाे सास फेर्याे । लाेग्नेले छाेडेर गएपछि रमिला एक्लि भएकी थिइन् । छाेरी अपांग भएकोले लाेग्नेले छाडेको, छाेरीकाे उपचारका लागि पैसा जुटाउन गाह्रो भएको, अधिकांश समय छाेरीकाे रेखदेखमा लाग्नुपर्ने हुनाले खर्च जाेहाे गर्न समय नमिलेको, समय मिलाएर काम गर्न जाँदा एक्लि देखेर गिद्दे नजर लगाउने गरेको गुनासो गरेकी थिइन् । एकछाक भातका लागि लडिरहेको रमिलाकाे परिवार देखेर म निकै भावुक भएको थिएँ । मैले निकै मिहिनेत गरेर समाचार बनाएको थिएँ । समाचारले राम्रो काम गर्याे । म पनि खुशी भएँ । पेशाकाे धर्म निभाउने क्रममा मानव धर्म पनि निभाएकाे थिएँ । काम बिशेषले निस्किएको थिएँ । रमिलाका आमाछाेरीको याद आयो । भेट्न मन लाग्याे । धन्यवाद बाबु, तपाईंको कारणले हामी सुखी छाैं । आनन्दले खाए लाएका छाैं भन्लिन् उनले । अनि नाक फुलाउँदै खिसिक्क हाँसेर यो त मेरो कामै हाे नि । सेवा गर्ने अवसर पनि मिल्यो भन्नुपर्ला भन्दै उनको घरतिर साेझिएँ । घरकाे ढाेका बन्द थियोे । भित्रैबाट चुकुल लगाएको थियोे । बाेलाएँ, ए रमिला दिदी । आवाज आएन । फेरि बाेलाएँ । बल्लतल्ल सानी नानीले ढाेका खाेलिन् । मुसुक्क हाँस्दै साेधें खै त तिम्रो आमा ? उनले अनुहार अध्यारो बनाइन् । बाहिर जानू भएको हो ? होइन । भनेर टाउको हल्लाइन् । सानीको अनुहारमा एक्कासी क्राेध देखियो । “तपाई होइन हामीलाई सहयोग गर्ने ? हाम्रो समाचार बनाउने ?” ठाडो प्रश्न तेर्साइन् । “हो म नै हो ।” विस्तारै बाेलें म । “किन गरेको सहयोग ? गरिव नै थियौं हामी । साथमा त थियौं आमाछाेरी । मिठो नभए पनि पेट त भरेकै थियौँ । आमाले दुख गरेकै थिइन् । तपाईंले समाचार लेखेकै भरमा आमा पाेइल गइन । पाप लाग्छ तपाईंलाई । म अब कसरी पालिने ?” “मेरो समाचारले कसरी ?” म अक्क न बक्क भएँ । “सहयोग दिन घरमा मान्छे आउने जाने गर्न थाले । राहत दिने निहुमा पटकपटक घर आइरहने एक पुरुषले आमालाई टिपेर लग्यो ।” उ एकछिन बिसाइ र भुँइतिर हेरेर बाेली । म हिडें । तलाई कुरेर बस्दिन । तेरो लागि म मेरो जवानी खेर फाल्दिन । म बरु तेरो बाउलाई खबर गरिदिन्छु भन्दै छाडेर गइन आमा पनि । तपाई पापी हो पापी ।” म बाेल्न नपाउँदै उसले ढाेका ढप्काई । म हेरेकाे हेर्यै भएँ । (कथाकार न्यौपाने जनज्ञान ज्योति मावि कोहलपुरकी प्रधानाध्यापक समेत हुन् ।)

Nabintech