• २ असार २०७८, बुधबार
सबैका लागि पाठ : भेरी अस्पताल

  • सागर बुढाथोकी

  • २१ बैशाख २०७८, मंगलवार ०७:०८

 बाँकेको संक्रमण विस्तारलाई ‘सुनामी’ भन्छन्, डा. पाण्डे । वैशाख ३ गते यता भेरी अस्पतालमा दैनिक ५ देखि ७ जना संक्रमितको मृत्यु भइरहेको छ । कोरोना संक्रमितको उपचार गर्ने बाँकेका भेरी र नेपालगञ्ज मेडिकल कलेजमा २४ घण्टामा १० जना संक्रमितको मृत्यु हुनु सामान्य बनेको छ । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरू ‘अब त हात उठाउने बेला भइसक्यो’ भनेर गुहार मागिरहेका छन् । संक्रमितको मृत्यु भएपछि मात्र सास फेर्न नसकेर छटपटाइरहेका संक्रमितले सघन कक्षमा भर्ना पाउने दारुण अवस्था छ । दुवै अस्पतालमा अक्सिजन अभाव हुनसक्ने चिन्ता छ । सेनाको शव व्यवस्थापन टोलीलाई भ्याई नभ्याई छ । एक वर्षअघिकै सोच र संरचना भएको भए क्षतिको तथ्यांक योभन्दा १० गुणा बढी हुने डा. पाण्डे बताउँछन् । भेरी अस्पतालले गएको १२ महीनामा काठमाडौंका वीर, शिक्षण वा पाटन जस्ता ठूला अस्पतालले गर्न नसकेको त्यस्तो के काम गर्‍यो, जसको कारण ठूलो क्षति रोक्न सकिएको छ ? ‘महामारीको आकलन र त्यसविरुद्ध लड्ने पूर्व तयारी’ मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा भन्छन्, ‘पूर्वतयारीमा ध्यान नदिएको भए यतिबेलासम्म हामीले आत्मसमर्पण गरेर भाग्नुपर्ने अवस्था आइसक्यो ।’ महामारीले चकनाचूर पार्छ भन्ने ज्ञान गत वर्षकै महामारीले दिएको डा. थापा बताउँछन् । जनस्वास्थ्य जोगाउने पूर्व तयारीमा ध्यान नदिई ‘कोरोनालाई जितेको’ भाषण गर्दै निर्वाचनमा लागेको भारतलाई नियालिरहेका डा. थापालाई त्यहाँको बाछिटा नेपालमा आउँछ, आउँछ लागिरहेको थियो । उनी भन्छन्, ‘त्यसैले हामी स्टोर समेत खाली गरेर कोरोना वार्ड बनाउनेतिर लाग्यौं ।’ उनका अनुसार, गत वर्ष अस्पतालमा जम्मा ६ वटा अक्सिजन बेड थियो, अहिले २५० संक्रमितले अक्सिजन सपोर्टमा उपचार पाएका छन् । डा. थापा भन्छन्, ‘अरूले जस्तै हामीले पनि महामारी सकियो भनेर एचडीयू बेड बनाउनतिर नलागेको भए अहिले के हालत हुन्थ्यो होला ?’बाँकेको नरैनापुर कोरोनाको हटस्पट थियो । त्यतिबेला खजुरा क्यान्सर अस्पतालमा ५० बेड छुट्याएर संक्रमितहरूलाई राखिएको थियो । त्यसको व्यवस्थापन भेरी स्पतालले गरेको थियो । त्यो बेला ठूलो क्षति नगरी महामारी मत्थर भयो । ‘पोहोर पनि व्यवस्थापनमा निकै सकस परेकै हो’ डा. पाण्डे भन्छन्, ‘त्यो सकसले हामीलाई हात बाँधेर बस्न हुन्न है भन्ने चेत पनि दियो । अहिले हामी समस्याकै बीचमा भए पनि एकैपटक २५० संक्रमितलाई उपचार गर्ने सरकारी अस्पताल बनेका छौं ।’ भेरी अस्पतालको तीन वटा भवनमा कोरोना संक्रमित राखिएको छ । तीनमध्ये एउटा स्टोर खाली गरेर वार्ड बनाइएको हो । भेरीले भवन अभाव भए पनि बेड थपेर अन्य अस्पतालले भन्दा धेरै संक्रमितको उपचार गर्न सकेको हो ।

कोभिड फोकल पर्सनहरूका अनुसार, अहिले काठमाडौंको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा १९६ जना, पाटन अस्पतालमा १९०, बलम्बुको एपीएफ अस्पतालमा १४०, वीर अस्पतालमा ९६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा १२० जना संक्रमितको उपचार भइरहेको छ । काठमाडौंका अस्पतालले भन्दा बढी संक्रमितको उपचार गरिरहेको बाँकेको भेरी अस्पतालमा ६ जना मेडिकल अफिसर र ३९ नर्सले तीन सिफ्टमा संक्रमितको उपचार धानिरहेका छन् । अन्य विशेषज्ञ डाक्टर पनि संक्रमितको उपचारमा खटिएका छन् । हालसम्म ७० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेको डा. पाण्डे बताउँछन् । ‘संक्रमण भएका स्वास्थ्यकर्मीलाई काममा खट्न अनिवार्य छैन, तर अवस्था बुझेका सबै आफैं डटेका छन्’ उनी डा. पाण्डे भन्छन्, ‘यहाँका स्वास्थ्यकर्मी अन्य ठाउँको लागि पनि प्रेरणा हुन् ।’ महामारीको पूर्वानुमान, पूर्वतयारी र जुझारु स्वास्थ्यकर्मीले भेरी अस्पताललाई कोरोना महामारीको सुनामीमा टिकाएको कन्सल्टेन्ट फिजिसियन राज पाण्डे बताउँछन् । उनी भन्छन्, ‘हामीसँग अहिले पनि एकवर्ष अगाडिको जस्तै ६ वटा मात्र आईसीयू बेड भएको भए यतिबेला के हालत हुन्थ्यो, कल्पना गर्नुस् त ?’ काठमाडौं उपत्यका लगायतका देशका अन्य अस्पतालहरूमा भने एक वर्ष अगाडिकै संरचना छ । संक्रमण बढ्न थालेपछि काठमाडौंका अस्पतालहरूले धमाधम एचडीयू बेड थपिरहेका छन् । यीमध्ये वीर, टिचिङ र पाटन अस्पताललाई सय–सय बेड एचडीयू बनाउन गत कात्तिकमा नै प्रति बेड २० लाख बजेट पठाएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन् । ‘एपीएफ, सैनिक र प्रसुति अस्पताललाई ५०–५० बेड बनाउन बजेट पठाइएको थियो’ उनी भन्छन्, ‘ती अस्पतालमा एचडीयू बनाउन १७५ करोड बजेट पठाएका हौं ।’ ती अस्पतालहरूले महामारी थेग्न ढिलै भए पनि भेरीको बाटो समाएका छन् ।-अनलाइनखबर

Nabintech