११ बैशाख २०८१, मंगलवार
अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७८, बुधबार १७:३२

चीनले अफगानिस्तानमा बनेको नयाँ सरकारसँग पनि राम्रो सम्पर्क राख्ने बताएको छ । अफगानिस्तानको पुनर्निर्माणको लागि यो कदम आवश्यक रहेको चीनको भनाइ छ । बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्रेस ब्रिफिङको क्रममा यस्तो बताएका हुन् । तालिबानले मंगलबार अफगानिस्तानको नयाँ सरकार घोषणा गरेको छ । जसमा आफ्नै संगठनका प्रमुख नेतालाई मुख्य कार्यभार दिएको छ । त्यस्तै उसले अमेरिकाको आतंकवादीको सूचीमा रहेका व्यक्तिलाई पनि सरकारमा सामेल गरेको छ । चीनले भने आफूले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय एकरुपताको सम्मान गर्ने वाङले बताएका छन् । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै चीनले खुला र समावेशी सरकार गठन हुनुपर्ने बताएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानको नयाँ सरकारले सबै किसिमका मानिसको कुरा सुनेर आफ्ना मानिसको इच्छा र अन्तर्राष्ट्रिय समुदायको चाहनालाई पनि पूरा गर्नुपर्ने बताएका छन् । तालिबानले यसअघि नै चीनलाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भएको बताइसकेको छ । चीनले पनि तालिबानले काबुल सहरमा कब्जा जमाएपछि आफ्नो दूतावास बन्द नगरी त्यहाँ रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न सुझाएको थियो । – एजेन्सीहरुको सहयोगमा

Nabintech