१६ चैत्र २०८०, शुक्रबार
आईपीएलमा दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार ०८:१०

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो

शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शले ३२ रन योगदान गरे । दिल्लीका लागि डेब्यु गरेका स्टेभ स्मिथ ९ रन बनाएर  आउट भए । कप्तान ऋषभ पन्तले १५  रन जोडे । मार्कुस स्टोइनिस अविजित २७ रन बनाए । ललित यादव १२ रनमा अविजित रहे । पञ्जाबका रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए । त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । आक्रामक शुरुवात गरे पनि पञ्जाबले गतिलो फिनिसिङ गर्न सकेन । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए । तर यी दुई खेलाडी आउट भएपछि पञ्जाबको रन गति रोकियो । अग्रवालले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । राहुलले ६१ रन जोडे । दीपक हुडाले अविजित २२ रन बनाए । शाहरु खानले अविजित १५ रन जोडे । बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १-१ विकेट लिए । दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।

Nabintech