७ बैशाख २०८१, शुक्रबार
एमाले एकताका लागि लुम्बिनीबाट दवाव अभियान शुरु

  • टाइम्स संवाददाता

  • ६ असार २०७८, आईतवार ०८:०२

प्रतिनिधिसभा विघटनपछि विभाजनउन्मुख एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब दिन अभियान शुरु गरिएको युवा बुद्धिजीवी मञ्चले जनाएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विभाजित नेताहरु बीच संवाद गरी भएका कमजोरी सच्याएर एकताबद्ध हुन अपीलसमेत गरिएको छ । मञ्चले बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरी कार्यकर्ता एकताकै पक्षमा रहेको बताएका हुन् । कार्यक्रममा एमालेका पुराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरुले एमालेलाई फुटाउन खोजेको बताए । उनले २०५४ सालमा पार्टी फुट हुँदा कसैलाई फाइदा नभएको स्मरण गर्दै कम्युनिष्ट सिद्धान्त र बहुदलीय जनवाद एमालेले भुलेको आरोपसमेत लगाए । उनले एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले आफू प्रधानमन्त्री हुनकै लागि माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै पहिलो गल्ती भएको उनको दावी छ । ओलीको तीन कमजोरी उल्लेख गर्दै उनले भने, ‘पहिलो गल्ती प्रचण्डसँगको सहमति, दोस्रो प्रतिनिधिसभा विघटन र तेस्रो नागरिकता अध्यादेश जारी गर्नु हो ।’ उनले पार्टी फुटले कसैलाई हित नगर्ने भन्दै स्वार्थी नेतालाई चिन्न आग्रह गरे । संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा कम्युनिष्ट पार्टीहरुको आचरण र संस्कार बिग्रेको भन्दै एमालेमा पनि त्यो हावी भएको बताए । उनले माओवादी केन्द्रसँगको एकतापछि पार्टी चलायमान नै नभएको बताउँदै त्यसपछि नै चरम गुटबन्दी मौलाएको बताए । उनले शीर्ष नेताहरुले गरेको गल्तीलाई आत्मसमीक्षा गर्दै नवौं महाधिवेशनको नेतृत्व र नीतिमा पार्टीलाई फर्काएर एकता कायम गर्नुपर्ने बताए । पन्थीले गुटबन्दी नगरेर शीर्ष नेताहरुलाई मिल्न दवाव दिनुपर्ने बेला आएको बताए ।

यस्तै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईले पार्टी नेतृत्वले गरेको गल्ती औंल्याएकै आधारमा गुटमा भिडाउने प्रचलन गलत भएको भन्दै बुटवलबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताए । उनले महाकाली सन्धी हुँदा पनि गलत भएको भनेको तर पार्टी एकता कायम राख्नुपर्छ भन्ने मान्यतामा अडिक रहेको स्मरण गरे । युवा बुद्विजीवी मञ्च बुटवलका संरक्षक कमल गौतमले नेतृत्वका कारण पार्टी विभाजन हुन लागेको तर तल्लो तहको कार्यकर्ता विभाजनको विपक्षमा रहेकाले एकताको सन्देश दिन बुटवलबाट अभियानको थालनी गरिएको बताए । उनले शीर्ष नेताहरुलाई मिल्न दवाव दिन अभियान थालिएकाले प्रत्येक जिल्लामा यस्ता अभियान हुने बताए । एमालेका पनि कुनै पक्षमा नलागेका जिल्लाका बुद्धिजीवी र सम्बद्ध व्यक्तिहरुले एमालेको एकता कायम गर्न अभियान शुरु गरेको मञ्च बुटवलका अध्यक्ष हरि ज्ञवालीले बताए । अन्तरक्रियामा नेताहरु बाबुराम भट्टराई, गणेश घिमिरे, यातायात व्यवसायी नारायण भट्टराई, अगुवा भूवनेश्वर भण्डारीलगायतले बोल्दै पार्टी एकता जोगाउन अपिल गरेका थिए ।

Nabintech