७ बैशाख २०८१, शुक्रबार
एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार १७:२५

कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका छन्। शाहीलाई नेपाली कांग्रेसले पनि साथ दिएको थियो। राप्रपा तटस्थ बसेको थियो। नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ’फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको बताइएको छ। विपक्षमा १५ मत खसेको थियो। मतदानमा ३७ जनाले भाग लिएका थिए। आज दिउसो बसेको प्रदेश सभाको सातौँ अधिवेशनले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको हो । यस अघि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले चैत्र ३० गते प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गतेका लागि आव्हान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चैत्र ३१ गते नै विश्वासको मत लिन पत्र दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको थियो। माओवादी केन्द्रका सांसद ठम्मर बिस्टले सरकार टिक्ने अवस्था देखिएकोले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको दाबी गरेका थिए। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही सङ्कटमा परेका थिए। एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्रीले राजीनामा दिने कतिपयको अनुमान थियो। एमालेको नेपाल खनाल पक्षले ’फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्रीको पद जोगिएको छ। त्यसले नेकपा एमालेको केन्द्रमा रहेको विभाजनको भावी बाटोको पनि सङ्केत गरेको कतिपयको भनाइ छ। कर्णाली प्रदेशसभाका ४० मध्ये एक जना सांसदलाई माओवादी केन्द्रले दल त्यागेको भन्दै सांसदबाट हटाएको थियो। प्रदेश सभामा अहिले एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र राप्रपाका एक जना जना गरी ३९ जना सांसद छन्। सरकार टिकाइ राख्न मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक पर्थ्यो। माओवादी, काँग्रेस र राप्रपा एक ठाउँमा उभिँदा पनि १९ मत मात्रै हुन्थ्यो। सरकार जोगाउन एमालेको अनिवार्य साथ वा एमालेकै केही सांसदले फ्लोर क्रस गर्नुपर्ने अवस्था थियो।

Nabintech