१६ चैत्र २०८०, शुक्रबार
एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार १८:३५

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नका लागि अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । वैकल्पिक विधि भने पनि कुन विधिबाट परीक्षा गर्ने भन्ने खुलाइएको छैन । एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा सरकारसँग अनुमति माग गरेको उनको भनाइ छ । अध्यक्ष पौडेलले भने ‘समितिले बुझाएको प्रतिवेदनको आधारमा निर्णय गरी माग गरिएको हो । सकेसम्म अनुमति पाउने अपेक्षा छ ।’ संक्रमण दर बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको थियो । समितिले कक्षा १२ को परीक्षा विधिबारे पनि प्रतिवेदन बुझाएको छ । बोर्डले भने अहिले एसईईको लागि मात्रै अनुमति माग गरिएको जनाएको छ । अध्यक्ष पौडेलले भने ‘अहिले हामी एसईईको लागि मात्रै अनुमति माग गरेका छौं । कक्षा १२ को लागि भने केही समय पर्खने र आवश्यकता परेको खण्डमा अनुमति माग्छौं ।’ जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । एसईई ५ लाख १७ हजार विद्यार्थी र कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षा दिने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ । आइतबार बसेको बोर्डको बैठकले समितिले सुझाएको वैकल्पिक विधि सहितको प्रतिवेदन मन्त्रालय पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले भने ‘यही विधि भनेर किटान गरिएको छैन । प्रतिवेदनमा विभिन्न विधि सुझाइएको छ । सोही प्रतिवेदन मन्त्रालय पठाएको र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषद पठाउने निर्णय भएको हो ।’

Nabintech