१५ चैत्र २०८०, बिहीबार
ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार १८:२७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा  नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले  राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’ माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ । तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो । बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

Nabintech