१२ बैशाख २०८१, बुधबार
काेराेनाबारे शङ्का गर्ने ताञ्जनियाका राष्ट्रपतिको निधन

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार २२:४०

काेराेनाबारे शङ्का गर्ने ताञ्जनियाका राष्ट्रपतिको निधन

ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गर्नु भएको हो ।

मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन ।

गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उहाँले कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औषधि खाए हुने दाबी गर्दै आउनु भएको थियो ।

राष्ट्रपति मागुफुलीको निधनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनु हुने छ । उहाँले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाउनु भएको छ । तर, विपक्षी नेताहरुले भने राष्ट्रपति मागुफुलीको केन्याको एक कोरोना अस्पतालमा उपचार भएको दाबी गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति मागुफुलीले गएको जुनमा ताञ्जनियालाई कोरोनामुक्त घोषणा गर्नु भएको थियो । उहाँले मास्कको प्रभावकारीताबारे शङ्का व्यक्त गर्नु भएको थियो ।

ताञ्जनियाले गएको मे महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन भने कोरोनाविरुद्धको खोप खरिदका लागि पनि अस्वीकार गरेको थियो ।

Nabintech