१३ बैशाख २०८१, बिहीबार
कोहलपुरको वडा नं. १ बालविवाह मुक्त वडा घोषणा

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार १५:०७

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले वडा नं. १ लाई बालविवाह मुक्त वडाका रुपमा घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले राज्यले बालविवाह रोक्नकालागि थुप्रै कानून, विभिन्न नीति नियम, निर्देशिका, कार्यविधिहरु निर्माण गरिरहेकोले सो नीतिनियमको पालना गर्न किशोर किशोरी सचेत हुनुपर्ने बताएका छन् । साथै उनले बालविवाह कानूनले बन्देज गरेको छ भन्ने कुराको थाहा हुँदा हुँदै पनि पुर्खाहरुले सात वर्षकी कन्यालाई विवाह गरे पुण्य मिल्छ भन्दै स्थापना गरेको कुरीतीले नै बालविवाह हुने गरेको बताएका छन् । साथै उनले नेपाली समाजको विकास र सचेतना विकास भएसँगै समाजका रहेक वर्ग शिक्षित भईरहेको बताउँदै कोहलपुर नगरपालिका विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी समाजका विभिन्न वर्गलाई सचेत गराईरहेको अवस्थामा बालबालिकाहरुलाई विवाह गर्न २० वर्ष पुरा हुनुपर्छ भन्ने चिन्तनको विकास गर्न लागिपरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाको नीति अनुसार नगरका सबै वडालाई बालविवाह मुक्त गर्ने अभियानका क्रममा कोहलपुर नगरपालिका वडा नं. १२, १३ र वडा नं. १ लाई बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको बताएकी छिन्। साथै उनले बालविवाहका घटनाहरु दिनप्रति दिन बढ्दो क्रममा रहेको, बालविवाहका कारण महिला हिंसा पनि बढ्दो अवस्थामा रहेको बताउँदै बालविवाहकै कारण घरेलु हिंसा, महिला हिसां र अपराधिक घटनाहरु बढिरहेकोले बालविवाह मुक्त अभियानमा सबैले साथ र सहयोग गर्न अनुरोध समेत गरेकी छिन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले नेपाल सरकारको बालविवाह मुक्त अभियानका लागि रणनीति योजना २०७२लाई आत्मासाथ गर्दै र कोहलपुर नगरपालिकाको बालविवाह मुक्तअभियान संचालन अभियान २०७६ मा भएको व्यवस्था अनुसारको प्रक्रिया अवलम्बन गर्दै सम्पूर्ण मापदण्ड पुरा गर्दै कोहलपुर नगरपालिका वडा नं. १ लाई बालविवाह मुक्त वडाका रुपमा घोषण गरिएको बताएका छन् । कार्यक्रममा बालविवाह सम्बन्धीको सर्वेक्षण कर्ता शंकर खनालले वडा नं. १ का आथिक वर्ष २०७६÷०७७ देखि हालसम्म एक वर्षको अवधिमा ६२ वटा मात्र विवाह दर्ता भएकोमा कुनै पनि विवाह बालविवाह नभएको पाईएको उनले बताएका छन् । साथै वडामा गरिएको सर्वेक्षणमा दुई वडा बालविवाह भएको पाईएको र त्यो कुल संख्याको ३.१२ प्रतिशत रहेकोले कोहलपुर नगरपालिका वडा नं. १ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको बताएका छन् । वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका खेल्ने प्लान नेपाल ,समाजिक सचेतन सरोकार मञ्ज र (स्याक नेपाल)का प्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कोहलपुर नगरपालिकाले वाल विवाह मुक्त अभियान निर्देशिक २०७६ अनुसार क्रमिक नगरका सबै वडालाई बाव विवाह मुक्त गरिने जनाएको छ । यस अघि कोहलपुर नगरपालिका वडा न १२ र १३ वाल विवाह मुक्त घोषणा गरिसकिएको छ । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि लगातको सहभागिता रहेको थियो ।

Nabintech