१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७८, मंगलवार ११:५६

बाँकेको कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रमको सुरुवात भएको छ । “कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यक” भन्ने नाराका साथ कोहलपुरमा आजदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मुलक अभियान सुरु भएको छ । रेरी बाँके र कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा कोहलपुरमा सचेतना सम्बन्धी कार्यक्रम सुरु भएको हो । सो अभियान आवश्यकता अनुसार निरन्तर रुपमा संचालन हुने जनाईएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोरोना भाईरसको जोखिम कायम नै रहेको बेला स्वास्थ्य मापदण्ड आम नागरिकले पालना नगरेको बताएका छन् । साथै उनले कोरोनाको संक्रमण पुन भयावह हुँदा त्यसको जवाफदेहिता कसको हुने भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । कोहलपुर नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा विभिन्न सेचतनामूलक कार्यहरु गरिरहेको जानकारी दिँदै राज्यले लिएका नीतिहरुलाई आम सर्वसाधारण जनताले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले कोरोना भाईरसको तेस्रोे लहर आउने स्वास्थ्य क्षेत्रका विज्ञले बताईरहेको बेला सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिँदै तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गर्नका लागि रेरी बाँकेले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सचेतना अभियान संचालन गरिरहेको बताएकाछन् । कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्ड्यले कोरोना भाईरसको संक्रमण फैलिएदेखि कोहलपुर जेसीजले विभिन्न समयमा स्वास्थ्य सामग्रीहरु वितरण, राहत वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको जानकारी दिँदै कोहलपुर जेसीजले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको जानकारी समेत दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले कोरोना भाईरसको महामारीमा ट्राफिक प्रहरीले विभिन्न चुनौतिहरुको समाना गरिरहेको बताउँदै कोरोना भाईरसबाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै मेचिमहाकालि बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशकी सहसंयोजक रेणुका खड्काले कोरोना भाईरसका कारण विभिन्न समस्यमा परेका एकल महिला लगायत आर्थिक रुपमा कमजोर भएका महिलाहरुलाई विभिन्न सहयोगहरु गरिरहेको जानकारी दिँदै कोरोना भाईरसका कारण महिला तथा बालबालिका माथि विभिन्न खाले हिंसाका घटनाहरु बढिरहेको बताईन् । कार्यक्रममा मास्क नलगाएका आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण समेत गरिएका थियो । सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत यूवा विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण कोहलपुर जेसीज वर्ष २०२१ का महासचिव ईश्वर शर्माले गरेका थिए ।

 

Nabintech