६ बैशाख २०८१, बिहीबार
कोहलपुर नगरपालिकाको चेतवानी “भौतिक रुपमा विद्यालय संचालन नगर्नु”

  • राम बहादुर रावत

  • १४ श्रावण २०७८, बिहीबार १६:४७

बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु भौतिक रुपमा संचालन गरे कारवाही गरिने भएको छ । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेले शैक्षिक संघसंस्थाहरु बन्द गर्ने निर्णय गरेको भए पनि कोहलपुर नगर भित्रका केहि विद्यालयहरु संचालनमा आएको भन्दै कोहलपुर नगरपालिका र संस्थागत विद्यालयहरुका छाता संगठन बिच भएको छलफलमा कोहलपुर नगरपालिका भित्र तत्काल विद्यालय, क्याम्पस तथा ट्युशन सेन्टरमा विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर शिक्षण सिकाइ क्रियाकलाप गर्न नसकिने बताईएको छ । कोहलपुर नगरशिक्षा शाखाका प्रमुख अनन्तकुमार पौड्यालको नेतृत्वमा केहि समय अघि गरिएको अनुगमनले कोहलपुर नगरपालिकामा केहि विद्यालयहरुले भौतिक रुपमा कक्षा संचालन गरिरहेको प्रतिवेदन कोहलपुर नगरपालिकामा बुझाएपछि सो छलफल भएको छ । उक्त छलफलबाट दुई वटा निर्णय गरिएको छ । नगरभित्र केहि विद्यालयहरुले भौतिक रुपमा कक्षा संचालन गरेकोमा अब भौतिक रुपमा विद्यार्थीहरुको उपस्थितिमा पुनः कक्षा संचालन गर्न नपाईने र यदि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गरे कानून अनुसारको कारवाही गरिने निर्णय गरिएको कोहलपुर नगरशिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले बताएका छन् ।
सो छलफलमा बोल्दै कोहलपुर नगपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यार्थीहरुलाई कक्षा कोठामा सहभागि गराई पठन पाठन गराउन सक्ने अवस्था नभएकाले कोहलपुर नगर भित्रका विद्यालयहरुले भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराई कक्षा संचालन नगर्न आग्रह गर्दै राज्यको नीति विपरीत विद्यालय संचालन गरेको खण्डमा संक्रमण रोग ऐन अनुसार कारवाही हुने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिका भित्रका विद्यार्थीहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा विभिन्न माध्यमबाट जोडिनका लागि विशेष नीति लिन आवश्यक रहेको बताउँदै विद्यार्थीहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा जोड्नका लागि सबैको सहकार्य आवश्यक हुने बताएका छन् ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रिय सदस्य कुँबेर बस्नेत, एनप्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवर, वरिष्ठ उपाध्यक्ष किशोरराज मल्ल, प्याब्सन कोहलपुरका अध्यक्ष यम बहादुर रावत, क्रिसाका निवर्तमान अध्यक्ष शिव डाँगि, प्याब्सन कोहलपुरका रमेश केसी, तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु बेल्वासे, दिपज्योति विद्याश्रामका संचालक यूवराज पौडेलले कोरोना भाईरसका कारण जारी बन्दाबन्दीका कारण विद्यार्थीहरुमा मानसिक असर परिरहेकोले स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय संचालन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले राज्यले अन्य सबै क्षेत्र खुल्ला गरेर शिक्षण संस्थाहरु मात्र बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै अनलाईन कक्षामा सबै विद्यार्थीहरुको पहुँच पुग्न सक्ने अवस्था नरहेकाले राज्यले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालनको अनुमति दिन उपयुक्त हुने बताएका छन् । साथै केहि विद्यालयहरुले भौतिक रुपमा कक्षा संचालन गरिरहेको प्रति गम्भिर हुँदै विद्यालय नजिक घर भएका बालबालिकाहरुले टोल कक्षामा सहभागि भएझै विद्यालयमा थोरै मात्रामा आएर केहि समय अध्ययन गरेको बताएका छन् । साथै उनीहरुले कोरोना महामारीको बेला संस्थागत विद्यालयहरुले निःशूल्क रुपमा विद्यालयका गाडिहरु स्थानिय सरकारलाई उपलब्ध गराएको, स्वास्थ्य सामग्री उपलब्ध गराएको स्मरण गराउँदै राज्यको नीति भित्र रहेर आफ्ना गतिविधिहरु संचालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
सो छलफलमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर केसीले विद्यालयहरुले राज्यले लिएका नीति भित्र रहेको आफ्ना गतिविधिहरु गर्नुपर्ने भन्दै नीति नियम विपरित कार्य गरेको अवस्थामा कानून अनुसारको कारवाही हुने उनले बताएका छन् ।

Nabintech