१६ चैत्र २०८०, शुक्रबार
जनगणनापछि सबै अभिलेख तयार हुन्छ

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७८, सोमबार ०८:१९

जनगणना २०७८ सम्पन्न भएपछि देशभरका सबै वडाको आआफ्नै अभिलेख तयार हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सबै वडाको अभिलेख निर्माण हुने गरी प्रश्नावली तयार गरेको छ । ७५३ स्थानीय तहका छ हजार ७४२ वटै वडाको अभिलेख निर्माण गर्ने गरी विभागले प्रश्नावली तयार गरेको हो । वडा तहको वास्तविक अभिलेखसहितको वस्तुस्थिति विवरणको अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा चुनौती कायमै छ । केही पालिकाले पालिका स्तरको अभिलेख निर्माण गरे पनि वडागत अभिलेख भने निर्माण हुन सकेको छैन । स्थानीय तहको पुनर्संरचनापछि सबै स्थानीय तहका वडा नयाँ हुन् । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले विभागले प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बनाउन सकिन्छ भन्ने चित्रण गर्न सहज हुन्छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाका सबै कार्य सम्पन्न गर्ने गरी विभागले नयाँ कार्यतालिका हालै सार्वजनिक गरी सोहीअनुसार काम धमाधम गरिरहेको छ । उहाँले भन्नुभयो, “सबै वडाले खोजेकै जस्तो प्रोफाइल त नबन्न सक्छ तर वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्कसहितको प्रोफाइल भने वडा तहमा निर्माण हुन्छ ।”
आगामी जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच स्पष्ट रूपमा आउने छ । वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउने छ । जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपतर्को क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, वडाभित्र भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने गरी प्रश्नावली निर्माण गरिएको रेग्मीले बताउनुभयो ।

Nabintech