८ बैशाख २०८१, शनिबार
जिल्लामा थप तीन जना कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • १० बैशाख २०७८, शुक्रबार १६:०८

बाँकेमा एक २८ वर्षीय युवकसहित थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षीय युवकसहित अन्य दुई जना गरेर थप तीन जनाको विहिबार राती र शुक्रवार बिहान मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बनगाड ३ सल्यानका ५६ वर्षीय पुरुष र बाँके जानकी १ की ७१ वर्षीया महिलाको बिहीबार राती र बाँके बैजनाथ ६ का २८ वर्षिय युवकको शुक्रवार विहान मृत्यु भएको बताउनुभयो । ती तीनै जनाको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा अवस्था बिग्रँदै गएपछि मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । उहाँले उहाँहरुलाई सङ्क्रमण पुष्टि भएलगत्तै स्वास्थ्य अवस्था बिग्रन थालेपछि मेडिकल कलेजमा भर्ना गरिएको बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो लहरमा बाँकेमा दैनिक ३०० भन्दा बढी सङ्क्रमित थपिन थालेपछि अहिले जिल्लाका कुनै पनि कोभिड वार्डमा बिरामी राख्ने बेड र ठाउँ नरहेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । एकातिर भेरी र मेडिकल कलेजमा बेड, आइसियु र भेन्टिलेटर खाली छैन भने अर्कोतिर दैनिक सयौंको संख्यामा गम्भीर खालका बिरामी भएका सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले जिल्लावासी त्रसित बन्दै गएका छन् । कोरोनाका बिरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग नेपालगञ्जमा तत्काल जनशक्तिसहितको डेढदेखि २ सय बेडको कोभिड अस्पताल निर्माण गर्न माग गरेका छन् ।  अन्यथा अवस्था अति नै भयावह हुनसक्ने उनीहरुको चेतावनी छ ।

Nabintech