१२ बैशाख २०८१, बुधबार
नेपालको सानदार जित

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार १७:३७

ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो । लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन् । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।कुशल नेदरल्यान्ड्सँग ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । कुशल भुर्तेल नेपालबाट टि२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे । पहिलो खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । मलेसिया विरानदीप सिंहले १ विकेट लिए ।  त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो । चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगे । दोस्रो रन लिनेक्रममा ओपनर अजिज सायदसँग तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए । युवा ब्याट्सम्यान विरानदीप सिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे । विरानदीपले ११ बलमा १ चौका प्रहार गरे । विरानदीप आउट भएसँगै मलेसिया समस्यामा परेको थियो । आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए । अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रको टि२० आई करिअरको पहिलो विकेट हो । स्पिनर साहब आलमको १२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अमिनुद्दीन राम्ली ५ रनमा क्याच आउट भएसँगै मलेसिया ७७–६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका खिजर हायत ४ र शर्विन मुनींदि २० रनमा आउट भए । नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया पुछारमा छ । नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Nabintech