१५ चैत्र २०८०, बिहीबार
नेपालगञ्जमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०७८, मंगलवार १७:३१

बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँले एक दिनमा ३०० भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताउनुभयो । बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना सङ्क्रमित फेला परेका छन् । भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरी ३२२ जनामा कोरोना पुष्टि भएको छ । यो नै बाँकेको हालसम्मकै ठूलो मात्रामा भेटिएका सङ्क्रमित सख्या पनि हो । यसले बाँकेमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण बाहिर गएको पुष्टि गरेको छ । केन्द्रका अनुसार भेरी अस्पताल नेपालगञ्जमा भेटिएका सङ्क्रमित पनि हालसम्मकै उच्च हो । भेरीमा पछिल्लो २४ घण्टामा गरिएको ३७५ नमुना परीक्षणमा २१९ जनामा सङ्क्रमित पुष्टि भएका छन् । यसअघि बाँकेका शनिवार तीन वटा ल्याबमा गरिएको नमुना परीक्षणमा १०९ जना पुरुष र ९१ जना महिला गरी जम्मा २ सय जनामा कोरोना पुष्टि भएको थियो ।

Nabintech