६ बैशाख २०८१, बिहीबार
नेपालगञ्ज-पोखरा सिधा उडानले पर्यटन व्यवसायी उत्साहित

  • टाइम्स संवाददाता

  • ३ आश्विन २०७८, आईतवार १६:३६

निजी क्षेत्रको प्रयासमा पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो । लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रुपमा छलफल, बहस हुँदै आए पनि यसअघि कुनै पनि हवाई कम्पनीले व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो ।सीता एअरको १८ सिटे  जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर गर्‍यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको आग्रह र यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ । गत आइतबारदेखि कम्पनीको १९ सिटे जहाजबाट दैनिक रुपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले बताए । कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगन्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ । यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताउँछन् । रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् ।

नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधै नेपालगन्ज आउन चाहन्थे, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन । सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो । सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एयरले पहिलो पटक व्यावसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल व्यवसायी, पर्यटन व्यवसायी हर्षित भएका छन् । विभिन्न सरोकारवाला निकायले आज पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगन्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले बिदाइ गरेका थिए । उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पनीले जनाएको छ । नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा चार हजार ९९५, पाँच हजार ५६५ र सात हजार ६६५ रुपैयाँ तोकिएको छ । यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमानस्थल–होटलसम्म यातायातको व्यवस्थासहित ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित १३ हजार ९०० रुपैयाँको प्याकेज ल्याइएको वुद्ध एयरले जनाएको छ । -रासस

Nabintech