१५ चैत्र २०८०, बिहीबार
नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, सन् २०१५ मा भन्दा १०७ ले बढी

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७७, शनिबार १८:३१

नेपालमा एक सिंगे गैंडाको संख्या ७५२ पुगेको छ। चितवनमा मात्रै गैंडाको संख्या ६९४ पुगेको छ। चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरू गरिएको गैंडाको गणना चितवन राष्ट्रिय निकुञ्जमा सकिएपछि शनिबार नतिजा सार्वजनिक गरिएको हो। वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालको उपस्थितिमा निकुञ्जले गैंडा गणनाको नयाँ तथ्यांक सार्वजनिक गरिएको हो। पत्रकार भेटघाटमा बोल्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले सकेसम्म कम त्रुटी हुने किसिमबाट गणना सम्पन्न गरिएको  बताए। पछिल्लो पटक सन् २०१५ मा गैंडाको गणना गरिएको थियो। उक्त गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए। उक्त गणनाभन्दा यसपटक गैंडाको संख्या बढेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमासम्म पनि गैंडाको गणना भएको छ। सन् २०१५ अघि सन् १९९४, २०००, २००५ र २०११ मा गैंडाको गणना गरिएको थियो। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार सन् २०१५ को गणनायता चितवन निकुञ्जमा मात्रै १६१ वटा गैंडा मरिसकेका छन्। तीमध्ये ६ वटालाई सिकारीले मारेका थिए। अन्य प्राकृतिक कारणले मरेको निकुञ्जले बताउने गरेको छ। यस वर्षमात्रै प्राकृतिक कारणबाट २२ र सिकारीबाट ४ वटा गैंडा मरेका छन्। यसपटक देशका सबै क्षेत्रमा गणनाका लागि ४० वटा हात्तीसहित करिब ३ सय जना जनशक्ति परिचालन गरिएको थियो। पर्सा र चितवन निकुञ्जको क्षेत्रमा गणनाका लागि २५० जना भन्दा बढी खटिएका थिए। ४३ वटा हात्तीमा गएका गणकहरूमध्ये ७ जना महिला थिए। निकुञ्जमा १९ वटा ब्लक छुट्टाएर गणना गरिएको हो। गणनाका क्रममा ‘ध्रुबे’ नामको जंगली हात्तीले आक्रमण गर्दा चितवन निकुञ्जमा ५ जना कर्मचारी घाइते भएका थिए। उनीहरूमध्ये एक जनाको अझै पनि काठमाडौंमा उपचार भइरहेको छ। बर्दियामा एक जना गणकको बाघको आक्रमणबाट मृत्यु भएको थियो। नेपाल सरकारकै खर्चमा गैंडाको गणना भएको यो पहिलो पटक हो। यसअघिका गणना अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा हुन्थे। गैंडा गणनाका लागि नेपाल सरकारले करिब एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो। गत वर्ष नै गर्नुपर्ने गणना कोरोना भाइरसको महामारीका कारण स्थगित भएर एक वर्ष पछि धकेलिएको थियो।गैंडा गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोग गरेको थियो। कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले गणनाका लागि आफ्ना दक्ष जनशक्ति तथा सीपहरु प्रयोग गरिएको जानकारी दिए। विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा हेर्न ठूलो संख्यामा पर्यटकहरू चितवन आउने गर्छन्। यहाँको पर्यटनको ठूलो हिस्सा वाइल्डलाइफ पर्यटनमा आधारित छ। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैंडा थिए।१९६० को दशकमा पुग्दा यो संख्या घटेर १०० मात्रै पुग्यो। सन् १९७३ मा मात्रै सरकारले गैंडा संरक्षणलाई प्राथमिकतामा राखेर चितवन राष्ट्रिय निकुञ्ज निर्माण गरेको थियो। नेकपा माओवादीको जनयुद्धताका देशको ध्यान त्यसतर्फ मोडिँदा चितवन निकुञ्जमा चोरी सिकारी मौलाएको थियो। पछिल्ला दिनमा योक्रममा कमी आएप नि प्राकृतिक कारणले गैंडा मर्ने क्रम भने बढेर गएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा भेटिएका छन्। नेपालमा भेटिएका गैंडामध्ये १४६ वटा भाले र १९८ वटा पोथी छन्। ४०८ वटाको लिंग पहिचान नभएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए। यसपटक भेटिएका गैंडामा ५२० वटा वयस्क, ९६ वटा अर्ध बयस्क र १३६ वटा केटाकेटी रहेको उनले बताए।

Nabintech