१६ चैत्र २०८०, शुक्रबार
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०७८, शुक्रबार ०७:२४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो। वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।  सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ । वडा अधिवेशनको अघिल्लो दिन हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सभापतिका लागि एक मात्रै उम्मेदवार हुने घोषणा गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो समर्थनलाई बलियो बनाउन सबै जिल्लामा आफू निकट केन्द्रीय नेताहरुलाई खटाउनुभएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ ।  यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

Nabintech