१३ बैशाख २०८१, बिहीबार
नेपाली माटोको अधिकतम सदुपयोग गरेर आत्मनिर्भर बन्छौंः प्रधानमन्त्री ओली

  • टाइम्स संवाददाता

  • २ बैशाख २०७८, बिहीबार १७:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता प्रणाली’को शुभारम्भ गर्नुभएको छ । बिहीबार यहाँ प्रणालीको शुभारम्भ गर्नुहुँदै उहाँले नेपाली माटोको अधिकतम सही सदुपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउने चर्चा गर्नुभयो । सरकारले एक पछि अर्को नयाँ काम सफलतापूर्वक गरिरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीका लागि यी सबै काम सरकारले गरिरहेको उहाँले बताउनुभयो । हरेक क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गर्दै इतिहास झल्किने काम गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । अब माटोको परीक्षण गर्ने व्यवस्था भएकाले जहाँबाट पनि निर्देशित गर्नसक्ने सुविधा प्राप्त भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली कृषकलाई प्राविधिकले जहाँबाट पनि सुझाव दिनसक्ने बताउनुभयो । “हिजोका दिनमा भृकुटीलाई ल्हासा पु¥याउन तीन महिना लागेको थियो, अहिले केही घण्टामै पुग्ने सुविधा प्राप्त भएको छ” उहाँले भन्नुभयो, “आज विज्ञानले प्रविधिको विकास गरी कामलाई सहज पारिदिएको छ ।” डिजिटल सोइल म्यापिङको काम दक्षिण एसियामा नेपालले पहिलो पटक प्रयोग गरेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “सायद यो कित्ता प्रणालीको शुभारम्भ पनि हामीले दक्षिण एसियामा पहिलो पटक गरिरहेका छौं ।” उत्पादन र उत्पादकत्व गर्ने कुरामा यसको दूरगामी महत्व रहेको उहाँले चर्चा गर्नुभयो । झ्वाट्ट हेर्दा यो कृषि, उत्पादन र उत्पादकत्वसँग, किसानसँग सम्बन्धित देखिए पनि यो अन्य पक्षसँग पनि सम्बन्धित छ उहाँले भन्नुभयो । आज हरेक मन्त्रालयले देखाउन लायकको काम गरेको छ उहाँले भन्नुभयो, “आज हरेक मन्त्रालयले आफ्नो कामप्रति गौरवान्वित भएको छ, उत्कृष्ट काम भइरहेका छन् ।” सगरमाथाको उचाई नाप्नेदेखि, माटो नाप्ने, मेरो कित्ता प्रणालीसम्मको डिजिटल नेपालको यात्रा शुभारम्भ भइसकेको उहाँले बताउनुभयो । परम्परागत कृषिबाट आधुनिक, व्यवसायिक, प्रविधियुक्त बनेको उहाँले बताउनुभयो । देशलाई खाद्यन्न र खाद्यवस्तुमा आत्मनिर्भर, लगाउने वस्त्रमा आत्मनिर्भर, आवासमा आत्मनिर्भर, शिक्षा, स्वासथ्यमा पनि मुलुकलाई आत्मनिर्भर बनाउने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मन्त्रालयका सचिव, निर्देशकले मेरो पालामा यो काम भएको हो भनेर भोलि गौरव गर्ने ठाउँ बनेको छ ।” सरकार एकपछि अर्को उत्कृष्ट काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । नयाँ सोच र संकल्पकासाथ सरकार अघि बढेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले मेरो कित्ता प्रणालीजस्ता कार्यक्रमले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्तो कार्यक्रमले नेपाली हुनुमा गर्व गराउने वातावरण बनाउने उहाँले बताउनुभयो । “खाद्यवस्तु हामीकहाँ पर्याप्त छ तर हाम्रो आनीबानी परिवर्तन हुन नसक्दा समस्या परेको छ, आफ्नो खानपिन र आनीबानीमा परिवर्तन गरौं हामी आत्मनिर्भर बन्छौं” उहाँले भन्नुभयो । खाद्यन्नवस्तुको नेपाल निर्यातक देश बन्नुपर्छ आयातक होइन, दुई तीन वर्षभित्र यो अवस्था निर्माण हुन्छ उहाँले भन्नुभयो, “सरकारले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनेगरी काम गरिरहेको छ ।” हरेक वर्ष व्यापार घाटालाई क्रमशः घटाउँदै लगेको र आगामी दिनमा सन्तुलनतिर पु¥याउने उहाँले बताउनुभयो । कोभिड १९ ले एक वर्ष हरेक क्षेत्रमा असर पु¥याए पनि सरकारले त्यसलाई सम्हालेको उहाँले चर्चा गर्नुभयो । फेरि कोभिड १९ संक्रमण बढ्दै गएको अवस्थामा सरकार सतर्क रहेको बताउनुभयो । “हामी हरेक दिन एक पाइला अगाडि बढेका छौं, हाम्रो क्रियाकलाप सोही दिशामा छ” प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा सिफारिस भइसकेको बताउनुभयो । सिफारिस हुनु भनेको घोषणा भएसरह हो उहाँले चर्चा गर्नुभयो । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पूरा गरिसक्छौं उहाँले भन्नुभयो । तीन वर्षभित्र नेपाल फलाममा पनि आत्मनिर्भर हुने उहाँले बताउनुभयो । पेट्रोल डिजलबाट गाडी चलाउनुभन्दा इलेक्ट्रिक गाडीमा अव ध्यान दिने बताउनुहुँदै प्रधानमन्त्री ओलीले अपर तामाकोसीको काम ढिलासुस्ती भइरहेको बताउनुभयो । त्यसको काममा तिव्रता ल्याउनुपर्ने नत्र सह्य नहुने उहाँले बताउनुभयो । “कडाई नगरेको भए मेलम्चीको पानी पनि सम्भव थिएन, कडाइ गरेर पानी ल्याएका हौं” उहाँले भन्नुभयो । काममा व्यवधान खडा गर्ने कामलाई हामी अनदेखी गरेर बस्न सक्दैनौं उहाँले भन्नुभयो, “रिजनेवल कारणबाहेक विलम्ब स्वीकार्य हुनसक्दैन ।” नेपालले एउटा अर्को नयाँ मार्ग कोरेकोमा प्रधानमन्त्री ओलीले सबैलाई धन्यवाद दिनुभयो । उहाँले सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गर्नुभयो । देश विकासमा सबैको कर्तव्यपरायणता कायम रहोस् उहाँले शुभेच्छा व्यक्त गर्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपाललाई डिजिटल नेपाल बनाउने अभियानमा कित्ता प्रणाली अगाडि बढाइएको बताउनुभयो । जनताको सेवालाई चुस्त र दुरुस्त बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको उहाँले चर्चा गर्नुभयो । कामलाई चुस्त बनाउँदै जनताको सेवामा सरकारले ध्यान दिइरहेको उहाँले बताउनुभयो । -गोरखापत्रअनलाइृनखबरबाट

Nabintech