६ बैशाख २०८१, बिहीबार
पूर्वसचिव रेग्मी लाेक सेवा आयाेगकाे अध्यक्षमा सिफारिस

  • टाइम्स संवाददाता

  • २६ बैशाख २०७८, आईतवार १४:५४

पूर्वर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार (आज) बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्षसमेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो । परिषद्ले अन्य कैयौँ नियुक्ति गरेको पनि तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले संसद् छलेर स्वेच्छाचारी रूपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन । पछिल्लो पटक वैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक सङ्ख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्ने गरी ओली सरकारले अध्यादेश ल्याएको हो ।

Nabintech