११ बैशाख २०८१, मंगलवार
पेशल आचार्यका दुई कविता

  • पेशल आचार्य

  • ६ चैत्र २०७७, शुक्रबार २२:४७

पेशल आचार्यका दुई कविता

दृष्टिकोण

संसारमा
बुझ्नुभन्दा सजिलो र
नबुझ्नुभन्दा गाह्रो
अरू केही हुँदैन,

अनुकूल वस्तुहरू
अप्रतिम खुसीका
उच्छवास छर्छन्
क्रियात्मक प्रतिक्रियामा
प्रतिकूलका पहेलीहरू
अगम्य पीडाका
पर्वत ठड्याउँछन्,

सृष्टि
रोटेपिङ्झैँ
घुमिरहेको छ
अनवरत
हामी चढ्छौँ
उत्रन्छौँ
पालो पर्खन्छौँ
एकर्कामा
रिस
आरिस
रस
विरस
सबै हुन्छौँ
जीवन चलायमान
नदीझैँ
डुङ्गा
सललललअ
चिप्लिरहेको छ
गतिवान् पानीमा
क्रमशः उत्ताल ताल
बजाउँदै
नाच्दै गाउँदै
पानीमा पो जीवन छ ।

० ० ०

फिरादपत्र

मान्छे भन्दा ठूलो द्रोह
यहाँ अर्को कुनै छैन
मान्छे भन्दा अर्को ठूलो
यहाँ कुनै सन्ताप छैन
चिहानबाट
फटाफट उठिरहेका छन्
हिटलर
मुसोलिनी
दादा इदि आमिन
पोलपोर्ट
र बिन लादेनका
नयाँ संस्करणहरू,

सर्पहरू
घरमा पालेर
शान्ति नखोजौँ कृपया
वनमा
बाघहरू बढेका छन्
दावानल
चम्केको छ वनमै
गुँड भत्किएर
एक जोडी चरी
बिलखबन्दमा छन्,

फिरादपत्र कहाँ हाल्ने
अदालतमा
या मनमा ।

Nabintech