७ बैशाख २०८१, शुक्रबार
प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार ०८:१६

आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो । विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म मात्रै रहने अनुमानका आधारमा प्रदेशगत अर्थतन्त्रको प्रक्षेपण गरेको जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर लुम्बिनी प्रदेशको रहने प्रक्षेपण छ । गत आर्थिक वर्ष १.८ प्रतिशतले ऋणात्मक रहेको लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बढेर कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्ष पाँच खर्ब ९६ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।
लुम्बिनीपछि बागमती, प्रदेश १, प्रदेश २, गण्डकी र कर्णालीको समान ३.६ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । विभागका अनुसार यो वृद्धिदरले चालू आर्थिक वर्ष बागमतीको अर्थतन्त्रको आकार १६ खर्ब आठ अर्ब, प्रदेश १ को छ खर्ब ६४ अर्ब, प्रदेश २ को पाँच खर्ब ६२ अर्ब र कर्णालीको एक खर्ब ७२ करोड रुपियाँ रहने प्रक्षेपण गरिएको छ । सबभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको रहने प्रक्षेपण विभागको छ । गत आर्थिक वर्ष ०.६ प्रतिशतको झिनो वृद्धिदर हासिल गरेको यो प्रदेशले चालू आर्थिक वृद्धिदर ३.४ प्रतिशतको रहने विभागले जनाएको छ ।

Nabintech