१६ चैत्र २०८०, शुक्रबार
फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०७८, बिहीबार १७:०६

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै ९८औं स्थानमा उक्लँदा किर्गिस्तान ९९औं स्थानमा झरेको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि इराकमा छ । नेपालले शनिबार पूर्व एसियन च्याम्पियन तथा ६८औं वरीयतामा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एसियाली राष्ट्रमा वरीयतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औं र माल्दिभ्स १५५औं स्थानमा रहेको छ । यस्तै नेपालभन्दा पछि बंगलादेश १८४औं, भुटान १८७औं, पाकिस्तान १९९औं र श्रीलंका २०४औं स्थानमा छन् । विश्व वरीयताको शीर्ष दशमा कुनै परिवर्तन भएको छैन । शीर्ष १० मा युरोपबाट ७ टिम रहँदा दक्षिण अमेरिकाबाट तीन टिम ब्राजिल, अर्जेन्टिना र उरुग्वे छन् । युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

Nabintech