१३ बैशाख २०८१, बिहीबार
बर्दिया निकुञ्जबाट एक वर्षमा पाँच पाटेबाघ नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १३ असार २०७८, आईतवार १८:३५

बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा मानवमाथि आक्रमण गरेर मार्ने तथा मानव बस्ती नजिक गएर घरपालुवा जनावर खाने पाँच वटा पाटेबाघलाई एक वर्षको अवधिमा नियन्त्रणमा लिएर विभिन्न ठाउँमा पुरयाईएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै बर्दिया निकुञ्जबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइसकिएको बर्दिया निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत असीम थापाले बताउनुभयो । उहाँले यसरी नियन्त्रणमा लिईएका बाघहरु मध्ये एउटालाई निकुञ्जको कार्यालय रम्मापुरस्थित खोरमा राखिएको, एउटालाई सदर चिडियाखाना जाउलाखेल काठमाण्डौ पठाइएको, एउटा बाँकेको खोरबाट डण्डी बङ्ग्याएर भागेको तथा अर्को एउटालाई गुठी क्षेत्रको जङ्गलमा छाडिएको बताउनुभयो । सूचना अधिकारी थापाका अनुसार राजमार्गमा हिँडिरहने एक अर्को बाघलाई पनि नियन्त्रणमा लिएर रेडियो कोलार जडान गरेर छाडिएको छ । ‘दुई महिना जति भयो सो बाघको नियमित निगरानी गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘मुभमेन्ट एकदमै राम्रो छ, उसको व्यवहार पनि राम्रो छ ।’पछिल्लो पटक दुई दिन अघि मात्रै गेरुवा गाउँपालिका–४ स्थित एक सामुदायिक वनबाट पाटे बाघलाई नियन्त्रणमा लिएर गुठी क्षेत्रको घना जङ्गलमा छाडिएको निकुञ्जले जनाएको छ । मानव बस्ती नजिक आइरहने पोथी पाटेबाघलाई गेरुवा गाउँपालिका–४ स्थित एक सामुदायिक वनबाट नियन्त्रणमा लिईएको निकुञ्जका सूचना अधिकारी थापाले बताउनुभयो ।
सो बाघले मानव बस्तीनजिक आएर घरपालुवा जनावर खाने गरेको पाईएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको टोलीले नियन्त्रणमा लिएको थियो । ‘मानवीय क्षति नहोस् भनेर हामीले निगरानी गरिरहेका थियौं, मानवलाई नै ठूलो समस्यामा पारेको बाघ त होइन,’ सूचना अधिकारी थापाले भन्नभयो, ‘तर नियमित मानव बस्ती नजिक आउन थालेपछि नियन्त्रणमा लिएर गुठी क्षेत्रको जङ्गलमा छाडेका हौं ।’ पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी खण्डमा दिउँसै पाटेबाघ देखिने गरेको थियो । दिउँसै राजमार्गमा पाटेबाघ देखिन थालेपछि आवतजावत गर्न जोखिम भएपछि केही समयअघिबाट नै सतर्कता अपनाउन थालिएको हो । पाटेबाघको आक्रमणबाट गत एक वर्षमा मात्रै बर्दियामा ९ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ । -गोरखाअनलाइृनखबरबाट

Nabintech