१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका १० जना संक्रमित थपिए, ६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७८, आईतवार १५:१६

बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा १ गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका पाँच महिला र ३ पुरुष गरी ८ जना हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ३४ पुगेको छ । यस्तै आइतवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ४५ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १४ पुगेको छ भने मध्यम बिरामीको संख्या २० पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । संक्रमणबाट अहिलेसम्म बाँकेमा ३ सय २२ जनाको मृत्यु भएको छ । पहिलो लहरमा ५८ जनाको मृत्यु हुँदा दोस्रो लहरको हालसम्म २ सय ६४ जनाको कोभिडबाट मृत्यु भएको छ ।

Nabintech