७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २८ जना थपिए, २२ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७८, शनिबार १७:५०

बाँकेमा पछिल्लो २४ घण्टामा थप २८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १०५ नमुना परीक्षण गर्दा २८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको ४० नमूना परिक्षणमा ७ जना, नेपालगञ्ज मेडिकल कलेजमा ५१ नमुना परीक्षण गर्दा २० जना र बागेश्वरी ल्याबमा१४ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १५ जना छन् । १० जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार ३५७ नमुना परीक्षण गर्दा १७ हजार ८ सय ९४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना डिस्चार्ज भएका छन् । ९ जना महिला र १३ जना पुरुष गरी २२ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४३६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २५ पुगेको छ भने मध्यम बिरामीको संख्या ३३ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
कोभिडबाट दुई जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा गएराती घोडाघोडी नगरपालिका–१ कैलालीका ६९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–२ का २४ वर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हिजो थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएका कैलालीका पुरुषको स्वास्थ्यमा सुधार नआउँदा हिजै राती साढे ८ बजे मृत्यु भएको हो । त्यस्तै कोहलपुरका २४ वर्षीया महिलालाई श्रावन २० गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि श्रावण २३ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा हिजो राती ९ बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्लाकै ३२६ जना र उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ३९१ जनाको मृत्यु भईसकेको छ ।

Nabintech