१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी गरिंदै

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०७८, शनिबार १७:२३

कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै ‘हटस्पट’ बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । बाँकेका स्थानीय तहहरुले तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका हुन् । यहाँ हाल कोरोना भाइरस सङ्क्रमण र मृत्युदर ह्वातै घटे पनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनले तेस्रो लहरको कोरोना महामारी फैलिन नदिन अहिलेदेखि नै योजना बनाएर काम शुरु गरिएको बताए । तेस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन केन्द्र, अस्पताल तथा आवश्यक पर्ने बजेट व्यवस्थापनलगायत सवालमा पूर्वतयारी शुरु गरिएको उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले फेरि पनि कोरोना भाइरस संक्रमण फैलिन सक्ने आशंका गर्दै आगामी आर्थिक वर्षको बजेट त्यसतर्फ लक्षित गरेर रोकथाम न्यूनीकरणका कार्यक्रम तय गर्ने भएको छ । त्यसका लागि प्रदेश, केन्द्र सरकार र स्वास्थ्यमा काम गर्ने संघसंस्थासँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तेस्रो लहरको कोरोना महामारीसँग जुध्न जिल्ला स्तरमै आवश्यक रणनीति तयार गरेर अगाडि बढ्ने बताए । उनले बाँके भारतीय सीमावर्ती जिल्ला भएकोले आवागमनलाई रोक्ने, स्वास्थ्य जाँच बढाउने र स्थानीय तहहरुसँग समन्वय गरेर पूर्वतयारी र योजनाका साथ काम गरिने जानकारी दिए । -रासस

Nabintech