८ बैशाख २०८१, शनिबार
बाँकेमा सोमबार ४१ जना सङ्क्रमित थपिए, २४ जना सिकिस्त

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७७, सोमबार १७:२९

बाँके जिल्लामा हाल आएर कोरोना सङ्क्रमित थपिने क्रम तीव्र देखिएको छ । आइतबार ४० जना सङ्क्रमित थपिएका थिए भने आज सोमबार पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । उहाँले बाँकेमा चैत महिनाको शुरुबाटै सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि हाल आएर तीव्र गतिमा कोरोना फैलिरहेको पाइएको बताउनुभयो । फोकल पर्सन ओलीका अनुसार चैतमा मात्र हालसम्म १९६ जना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमित भएकाहरुमध्ये भेरी अस्पतालको कोभिड वार्डमा ५४ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ । तीमध्ये २४ जनाको अवस्था सिकिस्त रहकाे जनाउँदै अस्पतालका प्रमुख डा. प्रकाश थापाले ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको डा. थापाले बताउनुभयो । सङ्क्रमण बढ्ने क्रम बढ्दै गएपछि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्नुपर्नेमा सबैतिर जोड दिइरहेको उहाँले बताउनुभयो । भारतमा अति नै तीव्र गतिमा सङ्क्रमण फैलिंदै गएकोले सिमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने माग अधिकांश जिल्लावासीको छ । नेपालगञ्ज नाका भएर भारतबाट आएकामध्ये ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।

Nabintech