१५ चैत्र २०८०, बिहीबार
बाँकेमा १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • १५ असार २०७८, मंगलवार १९:१७

बाँकेको नेपालगञ्जमा १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । ‘धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बाँकेको नेपालगन्ज ३ स्थित कर्मोहनामा प्रदेश स्तरीय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले धान रोप्ने राइस प्लान्टर मेसिनबाट धान रोपेर उद्घाटन गरेका थिए । मन्त्री यादवले प्रदेश सरकार स्थापना भएदेखि नै कृषकलाई मल, बीउ र सिँचाइँ जस्ता आवश्यक पर्ने कुराहरुमा सेवा सुविधाका साथै अनुदान उपलब्ध गराउने कुरामा प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् । त्यस्तै नेपालीहरुको मुख्य खाद्यान्न बाली धान भएकोले यो प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउने लक्ष्य प्रदेश सरकारको रहेको बताउँदै बढी भन्दा बढी धान उत्पादन गरेर अनुदानको सदुपयोग गर्न उनले कृषकहरुलाई आग्रह गरे । अहिलेका नयाँ योजनाहरुलाई पकेट क्षेत्र बनाएर पुराना लोपान्मुख बीउ संरक्षण समेत प्राथमिकतामा राखिएको बताउँदै उनले कृषकले भोग्दै आएको मलको समस्या लुम्बिनी प्रदेशका कृषकले अब भोग्नु नपर्ने बताए । कार्यक्रममा लुम्बिनि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। रेवतीरमण पौडेल, लगायत जिल्लास्थित सरोकारवाला र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

Nabintech