६ बैशाख २०८१, बिहीबार
बाँके कोरोना भाईरसको उच्च जोखिममा

  • टाइम्स संवाददाता

  • १ बैशाख २०७८, बुधबार १८:१३

बाँकेजिल्ला पुन कोरोनाको उच्च जोखिममा परेको छ। विगत केहि दिनदेखि कोरोना भाईरस संक्रमितको संख्यामा वृद्धि भएसँगै बाँके कोरोनाको उच्च जोखिममा परेको हो । बाँके स्थित भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचनामा १२३ नमूना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको उल्लेख छ । यो परीक्षण संख्याको ६१ प्रतिशत हो । केहि दिनयता बाँकेमा कोरोना भाइरस संक्रमित संख्या अस्वभाविक रुपमा बढिरहेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरु ४ वर्षदेखि ८१ वर्ष उमेर समुहका रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु प्राय युवा अवस्थाका रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ३९४ नमूना परीक्षण गरिएको छ । जसमध्ये ५ हजार ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अस्पतालमा उपचारका लागि भर्ना रहेका गम्भीर अवस्थाका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको राप्तीसोनारी २ की ६९ वर्षीया महिला र कैलालीको लम्की चुहा १ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ती दुबै जनाको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेकै क्रममा उनीहरुको मृत्यु भएको फोकल पर्सन ओलीले बताएका छन् । उनले उनिहरुको उपचारका लागि अपनाउनुपर्ने सबै प्रकारका विधि अपनाईए पनि जोगाउन नसक्दा मृत्यु भएको बताए । अझैपनि करिब ३० जनाको अवस्था निकै जटिल रहेको जनाउँदै ओलीले पछिल्लो समयमा भेटिएका सबै सङ्क्रमितहरु विरामी रहेकोले अस्पतालमा ठाउँ अभावले उपचारमा समस्या भैरहेको बताए ।

Nabintech