६ बैशाख २०८१, बिहीबार
बाँके डेंगुको उच्च जोखिममा,पाँच जना डेंगुका विरामी भेटिए

  • टाइम्स संवाददाता

  • ३० असार २०७८, बुधबार १७:४८

बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले आज डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक वर्ष २०७६–७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५–७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए । सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । तातो हावापानी भएका शहर र सहरोन्मुख वस्तिमा डेंगु रोगको जोखिम बढी देखिएको छ । डेंगु, मलेरिया, चिकन गुन्या, कालाजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ । लामखुट्टेको टोकाईबाट सर्ने यी रोगबाट जोगिन बातावरण सरसफाईलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताउनुभयो । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

Nabintech