१२ बैशाख २०८१, बुधबार
बाँके नरैनापुरको सन्तानेश्वर महादेवमा धार्मिक पर्यटककाे घुइँचाे

  • टाइम्स संवाददाता

  • ४ श्रावण २०७८, सोमबार १६:०५

बाँकेको नरैनापुर गाउँपालिका ५ चुरेको टाकुरोमा रहेको सन्तानेश्वर महादेवमा यतिबेला धार्मिक पर्यटकको घुइँचो लागेको छ । केही समय पहिलेसम्म धेरैको जानकारीमै नआएको सो मन्दिर बारे प्रचारप्रसार भएपछि अहिले त्यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक र बाह्रय पर्यटक पुगिरहेका छन् ।
सन्तान नभएकाहरुले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकोले सन्तानेश्वर महादेवको दर्शन गर्न जानेहरुको सङ्ख्या दिनदिनै बढ्दै गएको नरैनापुर गाउँपालिकाले जनाएको छ । सन्तानेश्वर महादेवका बारेमा जिल्लाभित्र र बाहिरका सर्वसाधारणले थाहापाएपछि हाल आएर स्वतःस्फुर्त ढङ्गले नेपालगञ्जबाट दैनिक सयौं मानिसहरु रमणीय धार्मिक पर्यटकीयस्थल महादेवको दर्शनका लागि आउने गरेको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले विस्तारै त्यहाँ अझै बढी धार्मिक र अन्य पर्यटक बढाउने योजना तयार भैरहेको पनि बताउनुभयो । सो मन्दिरको प्रचार प्रसार व्यापक रुपमा गरेर नेपाली तथा भारतीय धार्मिक पर्यटक आकर्षित गर्ने अभियानमा गाउँपालिका लागेको छ । पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि भिजिट नरैनापुर २०२१ अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । उहाँले नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिकाले विभिन्न कार्यहरु गरिरहेको पनि बताउनुभयो ।
चुरेको टाकुरामा रहेको सन्तानेश्वरको मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने गरेको छ । सोही कारणले सो मन्दिरमा पुग्ने धार्मिक पर्यटकहरुको सङ्ख्या दिनदिनै बढ्दै गएको नरैनापुर मटैहियाका स्थानीय विनय दीक्षितले बताउनुभयो । उहाँले धेरै प्रचार प्रसार नभए पनि भारतको टाढा टाढाबाट समेत यहाँ पर्यटकहरु आउन थालेको बताउनुभयो । कोभिड १९ को महामारी घट्दै गएपछि भारत र नेपालका ठूला ठूला सहरमा सो मन्दिरको व्यापक प्रचारप्रसार गरिने गाउँपालिकाले जनाएको छ । -गोरखापत्रअनलाईनबाट

Nabintech