१६ चैत्र २०८०, शुक्रबार
बाढीपहिरो र डुबानमा परी ४४ को मृत्यु, ६० जना घाइते

  • टाइम्स संवाददाता

  • २४ असार २०७८, बिहीबार ०७:१३

बाढीपहिरो र डुबानमा परी हालसम्म ४४ जनाको मृत्यु भने ६० जना घाइते र २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा २४ जना पुरुष, १३ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेको प्रहरी प्रधान कार्यालयकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन् । तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र ४ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, जुम्ला, चितवन र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा १-१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८-८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४-४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

Nabintech