१३ बैशाख २०८१, बिहीबार
“बालबालिकाको हक र अधिकारका लागि विशेष नीति लिन सुझाव”

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७८, मंगलवार १५:५१

बाँकेको कोहलपुर नगरपालिका भित्रका बालबालिकाहरुको हक र अधिकारका लागि विशेष नीति लिन बालबालिकाहरुले सुझाव दिएका छन् । राष्ट्रिय बालदिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश बालबालिकाहरुले राज्यको नीतिगत तहमै बालबालिकाको हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालक्लब कोहलपुर अध्यक्ष रमेश वर, दिव्यविद्या विद्यालयमा अध्ययन छात्रा यमुना खत्री, त्रिभुवन माविमा अध्ययनरत छात्र आषिश अधिकार लगायत अधिकांश बालबालिकाले वडास्तरमा पुस्तकालय हुनुपर्ने, खेलमैदानको व्यवस्थापन गर्नुपर्ने, उच्च शिक्षाका लागि कोहलपुरमै विभिन्न संकायका विद्यालयहरु संचालन गर्नुपर्ने माग समेत गरेकी छिन् । साथै विद्यालय तहमा अध्ययन गर्ने छात्राहरुका लागि महिनावारी हुँदाका समस्या विभिन्न खाले रहेकोले सोको समाधानका लागि विशेष नीति लिन सुझाव समेत दिएकी छिन् । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालबालिका क्षेत्र विभिन्न काम गरिरहेको बताएका छन् । नगरप्रमुख रावतले बालबालिकाहरुका विभिन्न समस्या मध्ये बालविवाह प्रमुख समस्या रहेकाले कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त नगर घोषण गर्ने अभियानमा रहेको बताएका छन् । बालबालिकाहरुको हक र अधिकार नेपालको संविधानमा उचित व्यवस्था गरिएको बताउँदै स्थानिय सरकारले आवश्यकता अनुसार बालबालिका क्षेत्रका लागि विभिन्न कानून निर्माण देखि सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले पछिल्लो समय बालबालिकाहरु लागु औषध दुव्र्यशनमा परिरहेकाले त्यसको रोकथामका लागि स्थानिय सरकारले विशेषनीति लिएर विभिन्न काम गरिरहेको जानकारी दिएकी छिन् । खुल्ला सिमानाकाका कारण केहि लागुऔषध नियन्त्रण गर्नमा जटिल भएकाले लागुपदार्थ न्यूनिकरणका लागि जनचेतनामूलकका कार्यक्रमहरु संचालन गरिएको बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गोपि खनाल र वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले वडातहमा बालबालिकाहरुको यर्थाथ वस्तुस्थिति बुझेर नियम कानून बनाउनुपर्ने भएपनि बालबालिकाहरु सँग सम्बन्धित बनेका केहि कानूनहरुले असहज परिस्थिति निम्ताएको बताएका छन् । बालमैत्री बजेट बनाउन नसक्दासम्म वडातहबाट बाललिकासम्बन्धी समस्याहरु समाधान हुन नसक्ने उनीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरशिक्षा शाखा प्रमुख अनन्तकुमार पौडेलले अपांगता भएका बालबालिकाहरुका लागि राज्यले विशेष नीति लिएर काम गरिरहेको जानकारी दिँदै अपांगता भएका बालबालिका क्षेत्रमा गरिएको लगानीको अनुगमन पनि गरिएको बताएका छन् । आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयको विकास हुन नसकेको भन्दै वडा तहबाटै वडा स्तरीय पुस्तकालयको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । बाल अधिकारका सम्बन्धमा विद्यालय सजग हुनुपर्ने भएकाले कोरोना भाईरसका कारण बालबालिकाहरुमा मनोवैज्ञानिक असरपरिरहेको बताएका छन् । सो अवसरमा कोहलपुर क्षेत्रमा रहि बालबालिकाको हक र अधिकारका लागि काम गरेका दुई जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नं. ११ की निलम लम्साल र कोहलपुर नगरपालिका वडा नं. १० का आषिश अधिकारी रहेका छन् । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिना थापाले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले बालबालिकाहरुको क्षेत्रमा विभिन्न संघसंस्थाहरुको सहभागिता कामहरु गरिरहेको बताएकी छिन् । कार्यक्रममा स्थानियत जनप्रतिनिधि, बालक्लबका किशोर किशोरी लगायतको सहभागिता रहेको थियो ।

Nabintech