१३ बैशाख २०८१, बिहीबार
भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, एकतला माथिबाट हाम्फालेर बचाए ज्यान

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०७८, शुक्रबार ०७:४२

बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले  बताए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन’ डा. थापाले भने, ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उनको मृत्यु हुन गयो ।’ उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेको थापाको भनाइ छ । उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताए । चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालकाे वातावरण त्रसित रहेको उनले बताए । ‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ’ उनले भने । चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । थापाका अनुसार ज्यानको बाजी लगाएर, पानी समेत नखाई बिरामीको सेवामा निरन्तर खटिंदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताएका छन् ।

Nabintech