६ बैशाख २०८१, बिहीबार
भेरी अस्पतालमा २० शय्याको बाल आईसियु कक्ष निर्माण तीव्र

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७८, सोमबार १५:१८

कोरोना महामारीको पछिल्ला दुई चरणमा सबैभन्दा बढी प्रभावित भएको बाँकेमा तेस्रो लहरको सम्भावना रोक्न विभिन्न कार्यहरु अगाडि बढाइएका छन् । सो क्रममा भेरी अस्पताल नेपालगञ्जमा तेस्रो लहरका लागि आवश्यक पूर्वाधार निर्माण अगाडि बढाइएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले तेस्रो लहरमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्न सक्ने आशङ्का गरिएकोले सो नियन्त्रणका लागि अस्पतालमा २० शय्याको बाल केन्द्रित आइसियु निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो । उहाँले सरकारले नै सम्भावित तेस्रो लहरको पूर्व तयारीका लागि आवश्यक निर्देशन दिएकाले सोही अनुसार आईसियु निर्माण लगायतका कामहरु भइरहेको जनाउनुभयो । बाल आईसियु निर्माण अन्तिम चरणमा पुगेको जनाउँदै डा. थापाले त्यसका लागि आवश्यक जनशक्ति र उपकरणका लागि पनि अस्पतालले केन्द्रमा पहल गरिरहेको बताउनुभयो । ‘आवश्यक सावधानी नपअनाए सङ्क्रमणले कुन बेला कस्तो रुप लिन्छ भन्न सक्ने अवस्था छैन’, पहिलो र दोस्रो लहरमा देशकै धेरै कोरोना बिरामीहरुको उपचार गर्ने अस्पतालमध्ये दरिएको भेरी अस्पतालका प्रमुख डा. थापाले सचेतनाका लागि आव्हान गर्दै भन्नुभयोे, ‘कोरोना सङ्क्रमण न्यूनीकरण भएको हो, नियन्त्रण होइन ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र मापदण्ड पालनामा सबै पक्ष गम्भीर भैदिए मात्रै विगतको जस्तो विडम्वना नआउने डा. थापाको भनाइ छ । कोरोना सङ्क्रमणको दोस्रो लहरमा अक्सिजनको कहालीलाग्दो अभाव झेलेका बिरामीहरुका लागि अक्सिजन पाइपसहितको शय्या व्यवस्थापन र लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरेको भेरीले अक्सिजन प्लान्ट स्थापना पहल पनि अगाडि बढाएको छ । ‘हाम्रो योजना अनुसार काम अगाडि बढ्यो भने अक्सिजन प्लान्ट स्थापना हुन्छ,’ डा. थापाले भ न्नुभयो, ‘अक्सिजन प्लान्ट भएपछि दीर्घकालीन रुपमै अक्सिजनको समस्या समाधान हुन्छ ।’ दोस्रो लहरकै बिरामीहरुको चाप कम भइरहे पनि सङ्क्रमण नरोकिएका कारण कोभिड वार्ड सुचारु रहेको र तेस्रोकाे पनि तयारी सँगसँगै अगाडि बढाइएको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech