१५ चैत्र २०८०, बिहीबार
मेडिकल कलेज कोहलपुरमा ३ सय शैय्याको ‘कोरोना डेडिकेटेड अस्पताल’

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०७८, बुधबार ०७:३५

बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ । वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड अस्पतालमा कोरोनाका शंकास्पद बिरामीहरुका  लागि राख्न ५० बेडको प्रिआइशोलेसन वार्ड हुने छ । अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीहरुका लागि ५० बेडको आइसियुको व्यवस्था हुनेछ । यस्तै संक्रमण भई लक्षण भए पनि स्वास्थ्य अवस्था सामान्य भएका बिरामीका लागि अन्य २ सय बेडमा अक्सिजन सहितको उपचार सुबिधा हुने छ । आइसियुमा भर्ना हुने बिरामीका लागि आवश्यकता अनुसार हाइफ्लो नोजल क्यानला बाइप्यापसहित भेन्टिलेटरको व्यवस्था मिलाइएको छ । कोरोना डेडिकेटेड अस्पतालमा १ सय २० जना चिकित्सक, ३ सय स्टाफ नर्ससहित ल्याब र सरसफाइकर्मी करिब २ सय जना कर्मचारीहरु खटिने छन् । यसअघि मेडिकल कलेजले वैशाख ३ गतेदेखि शिक्षण अस्पताल कोहलपुरमा कोरोना ५० बेड र त्यसको एक हप्ता पछि १ सय बेडको कोरोना वार्ड संचालन गर्दै आएको छ । हाल कोरोना वार्डमा २८ जना सिकिस्त सहित ४८ जनाको उपचार भइरहेको छ । बाँकेमा पछिल्ला दिनहरुमा दैनिक ५ सयको संख्यामा संक्रमितहरु थपिने गरेका छन् । छिमेकी जिल्लाहरुमा पनि संक्रमण थपिदै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन नदिन शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउन लागिएको अस्पतालका सहायक निर्देशक नितेश कनोडियाले बताए । शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड अस्पतालमा परिणत गरिए पनि डायलाइसिस सेवा बाहेक अन्य सेवाहरु भने नेपालगन्जस्थित शिक्षण अस्पतालबाट दिने व्यवस्था मिलाइएको छ । नेपालगञ्जको शिक्षण अस्पतालमा कोरोना संक्रमण नभएका बिरामीहरुको मात्र उपचार हुने कनोडियाले जानकारी दिए ।

स्वास्थ्य खबरपत्रिकाबाट

Nabintech