१६ चैत्र २०८०, शुक्रबार
राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खस्यो मतगणनाको तयारी सुरु

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०७८, सोमबार १५:३१

आज सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा २ सय ९७ मत खसेको छ । तीन सय मतदाता रहेको लुम्बिनी प्रदेश अन्तर्गतको उपनिर्वाचनमा २ सय ९७ मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
प्रदेश सभाका ८३ प्रदेश सभा सदस्यले मतदान गरे पनि स्थानीय तहतर्फका ३ जनाले मतदानमा भाग नलिएको कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ मतदाता रहेको उपनिर्वाचनमा २ सय १४ जनाले मात्र मतदान गर्नुभएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान नगरेका कुँवरले जानकारी दिनुभयो । उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिनुभएको थियो । खड्कालाई ठाकुर नेतृत्वको जनता समाजवादीले समर्थन गरेको थियो, भने पाण्डेलाई माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त हुनुभएको थियो । रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बन्नुभएको थियो ।
उपनिर्वाचनको मतगणना अबको केहीबेरपछि सुरु हुने कुँवरले जानकारी दिनुभयो । कुल मतदाता ३ सय रहेको उपनिर्वाचनमा ८३ जना प्रदेश सभा सदस्य र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ मतदाता रहेका थिए । जसमा प्रदेश सभा सदस्यको ३ हजार ९ सय ८४ मतभार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार ३ हजार ९ सय ६ रहेको थियो । जम्मा ७ हजार ८ सय ९० मतभार रहेको उपनिर्वाचनमा प्रदेश सभा सदस्यतर्फ नेकपा एमालेको ३८ जना र जसपाको ठाकुर पक्षका चार सदस्य रहेका छन् । दुवैलाई जोड्दा एमाले गठबन्धनमा २ हजार १६ मतभार हुन्छ । त्यस्तै नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जसपाका यादव समूहको दुई र जनमोर्चाका एक सदस्य रहनुभएको छ । जसको मतभार कांग्रेसको ९ सय १२, माओवादी केन्द्रको ८ सय ६४, जसपाको यादव समूहको ९६ र जनामोर्चाको ४८ हुन्छ । कांग्रेस गठबन्धनको जम्मा मतभार १ हजार ९ सय २० हुन्छ ।
त्यस्तै प्रदेशका १ सय ९ स्थानीय तहमा एमालेका ९४ जना प्रमुख तथा उपप्रमुख रहेका रहनुभएको छ । जसको मतभार १ हजार ६ सय ९२ रहेको थियो, भने कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३ र जनमोर्चाका पाँच प्रतिनिधिको मतभार २ हजार १ सय ६ रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुखद्वारा निर्वाचान बहिस्कार
कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिष्कार गर्नुभएको छ । सामाजिक सन्जालमार्फत् यो जानकारी दिँदै राणाले निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको जानकारी दिनुभएको छ । ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु’, राणाले भन्नुभएको छ । लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राप्रपाले ह्वीप जारी नगरेको चन्दै राणाले पार्टीबाट कुनै निर्देशन र निर्णय नआएको बताउनुभयो ।

Nabintech