१३ बैशाख २०८१, बिहीबार
विमानमा बँदेल ठाेक्किएपछि नेपालगञ्ज विमानस्थलभित्रकाे झाडी फाँडियाे

  • टाइम्स संवाददाता

  • १७ कार्तिक २०७८, बुधबार १६:५७

वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ ।  झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन वटा बँदेल ठोकिएका थिए । उड्ने तयारीमा रहेको विमानमा तीन वटा बँदेल ठोकिए पनि चालक दलको कुशलताका कारण दुर्घटना टरेको हो । त्यस विमानभित्र चालक दलकासहित १७ जना यात्रु रहेका थिए ।  नेपालगञ्ज विमानस्थलको धावनमार्गमा यसअघि पनि पटक–पटक बँदेललगायतका अन्य जनावरहरू विमानमा ठोकिने गरेका थिए । बँदेललगायत अन्य जनावर लुकेर बस्न सक्ने भएकाले बुट्यान तथा झाडीहरू सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । सरसफाइमा एसपी अधिकारीको नेतृत्वमा नेपाल प्रहरीका ३० जना, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्कीको नेतृत्वमा ९० जना र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नवराज शाहीको नेतृत्वमा ४० जना गरि एक सय ६० जना सुरक्षाकर्मीको सहभागिता रहेको थियाे ।

Nabintech