१३ बैशाख २०८१, बिहीबार
शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७८, शनिबार १६:५७

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शै्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।  उहाँका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।

एक सङ्क्रमितको मृत्यु  

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो ।

Nabintech