११ बैशाख २०८१, मंगलवार
संक्रमित घटेपछि चिकित्सक र नर्सहरुलाई धेरै राहत, तेस्रो लहरसँग जुध्ने तयारी गर्दै

  • टाइम्स संवाददाता

  • २६ असार २०७८, शनिबार १६:१६

दोस्रो लहरको कोरोना संक्रमणको शुरुमै हटस्पट बनेको बाँकेमा अहिले दैनिक दश जना भन्दा पनि कम संक्रमित भेटिने गरेकाले केही दिनअघिसम्म दिनरात फुर्सद नपाउने चिकित्सक र नर्सहरुलाई धेरै राहत भएको छ । केही समयअघि चारसयको हाराहारीमा कोभिड बिरामीलाई उपचार सेवा दिएको भेरी अस्पतालमा अहिले ४०/४५ जनामात्रै बिरामी रहेकोले चिकित्सक र नर्स लगायतका स्वास्थ्यकर्मीले धेरै राहात पाएको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले मध्य वैशाख यता खाना समेत खाने फुर्सद नहुने स्वास्थ्यकर्मीले अहिले धेरै आराम महसुस गरिरहेको बताउनुभयो । संक्रमित घट्दै गएपछि स्वास्थ्यकर्मीलाई आराम मिलेपनि संभावित तेस्रो लहरको त्रासले उनीहरुलाई झस्काउने गरेको छ । तेस्रो लहरको संभावना रहेकोले अहिले सो लहरसँग जुध्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले विभिन्न योजनाहरु समेत बनाइरहेको अस्पताल प्रमुख डा. थापाको भनाइ छ । भेरी अस्पतालस्थित कोभिड सेक्सनकी इन्चार्ज शीला शर्मालाई एक महिना अघिसम्म एकछिन पनि फुर्सद थिएन । उहाँलाई बेड व्यवस्थापनदेखि नर्सिङ स्टाफको ड्युटी मिलाउनै मुस्किल पर्ने गरेको थियो । तर, अहिले उहाँले पनि निकै राहात महसुस भैरहेको बताउनुभएको छ । ‘अस्पतालमा विरामी खचाखच थिए, एक महिना अघिको स्मरण गर्दै उहाँले भन्नुभयो–‘जनशक्ति कम थियो व्यवस्थापन गर्न निकै गाह्रो भयो । वैशाखको शुरुदेखि जेठको दोस्रो सातासम्म विरामीको चाप थेगिनसक्नुभयो ।’ अस्पतालमा सञ्चालिन कोभिडका चारवटा हलमध्ये अहिले दुईवटा बन्द भइसकेका छन् । अस्पतालमा संक्रमित विरामीको चाप घट्दै गएपछि ननकोभिडका सबै सेवा सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ । सोही प्रकारको अनुभव सुनाउँदै नेपालगञ्ज मेडिकल कलेजका सह निर्देशक डा. रोमन किदवाईले वैशाख मध्यदेखि जेठ मध्यसम्म त एकछिन पनि आराम गर्न नपाइएको बताउनुभयो । उहाँले नेपालगञ्जका संक्रमितलाई कलेजको कोहलपुर शिक्षण अस्पतालमा बेड व्यवस्थापनदेखि अक्सिजन र उपचारका लागि दिनरात काम गर्नुपरेको बताउनुभयो । अहिले त धेरैनै राहत रहेको जनाउँदै उहाँले तर तेस्रो लहरको तयारी शुरु गरिसकेकाले अहिले पनि अधिकांश व्यस्त नै रहेको उहाँको भनाइ छ । -गोरखाअनलाईनखबरबाट

Nabintech