१३ बैशाख २०८१, बिहीबार
सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा छ: प्रधानमन्त्री ओली

  • टाइम्स संवाददाता

  • ९ जेष्ठ २०७८, आईतवार १८:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा रहेको बताउनुभएको छ । भरसक रोग सर्नै नदिने, सरिहालेमा उपयुक्त उपचार र खोपको व्यवस्थापन गर्न सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो । प्रेस चौतारी नेपालको आयोजनामा बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कोभिड खोपका लागि छिमेकी मुलुक चीन, भारत, अन्य मुलुक बेलायत, रुस, अमेरिका लगायत मुलुकसँग सरकारले पहल गरेको बताउनुभयो । भ्याक्सिन ल्याउने क्रम जारी रहेकाले निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब अक्सिजन सिलिण्डर, भेन्टिलेटरको समस्या समाधान करिब भइसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको ज्यान जोगाउन सरकारले सबै शक्ति परिचालन गरेको प्रष्ट पार्नुभयो । अहिले महामारीको ग्राफ तल झर्ने अवस्थामा रहेको बताउनुहुँदै उहाँले चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । नेपालले आफै भ्याक्सिन बनाउन सक्ने अवस्थामा नरहेकाले बाहिरबाट आयात गरिएको बताउनुभयो । हाम्रो लागत, अनुभवका कारण तत्काल भ्याक्सिन उत्पादन गर्न सक्ने अवस्था नरहे पनि दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक नेपालले भ्याक्सिन (खोप) लगाउने काम गरेको बताउनुभयो । कोभिड नियन्त्रणमा निजी क्षेत्रसँग पनि सहकार्य भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले नआत्तिन सबैमा आग्रह गर्नुभयो । कोभि विरुद्धको यस लडाइँमा सबैलाई एकजुट भएर लाग्न प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो । महामारी अचानक आउने चिज भएकाले व्यवस्थापनमा केही समस्या परे पनि सरकारले नियन्त्रणका लागि सबै शक्ति परिचालन गरिसकेको प्रष्ट पार्नुभयो । धनी मुलुक मेत कोभिडले आक्रान्त भएका बेला नेपाल पनि समस्यामा परेको उहाँले बताउनुभयो । महामारीका बेला सामग्री अपर्याप्त हुन्छ, हाम्रो यहाँ मात्र होइन, धनी र विकसित मुलुकमा पनि पनि स्वास्थ्य सामग्रीको अपर्याप्तता भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पताल बेड, शव व्यवस्थापन, अन्य स्वास्थ्य सामग्रीमा अपर्याप्तता अन्य मुलुकमा पनि भएको बताउनुभयो । नेपालले कोभिडलाई नियन्त्रण गर्न शुरुमै लकडाउन, सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सचेतनामा कडाइका साथ लागू गर्दा विकराल रुप लिन नपाएको उहाँले बताउनुभयो ।

पछिल्लो समय राजनीतिक, धार्मिक तथा खुला सिमानाका कारण आवतजावत सघन हुँदा कोभिड तीव्ररुपले फैलिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले अहिले स्वास्थ्य सामग्री पर्याप्तरुपमा आइसकेको र खोपको व्यवस्थापन पनि भइरहेकाले अब डराउने अवस्था नआउने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई व्यवस्थित गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सरकार लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो । “अब देशलाई संविधानको सिर्जनात्मक प्रयोग गर्दै, लोकतन्त्रको सही ढङ्गले प्रयोग गर्दै, सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “केही शक्तिहरु लोकतन्त्र सिध्याउन, हिंसालाई अँगाल्न  उद्यत  छन्, त्यो समाधानको बाटो होइन ।”आफूलाई प्रजातान्त्रिक शक्ति भन्नेहरुले  पनि प्रचण्डपथमा हिँडेको देख्दा आफूलाई ताजुब लागेको उहाँले टिप्पणी गर्नुभयो । “केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने कुरा सुनिरहेको छु, कसले गराएको निर्वाचनमा भाग लिने हो ? यो कुन लोकतान्त्रिक अभ्यास हो ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली काँग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा लागिरहेको छ ।” जनताबाट निर्वाचित सबैभन्दा ठूलो दलको सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कसले गराएको निर्वाचनमा जाने उहाँले जिज्ञासा गर्नुभयो । एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना काँग्रेसले देखिरहेको छ, यो दलीय व्यवस्थालाई मजबुत बनाउने अभ्यास नभएको उहाँले बताउनुभयो । लोकतन्त्रमा क्षणिक स्वार्थमा लाग्न कोही नहुने उहाँले बताउनुभयो । दलीय अनुशासन, पद्धतिलाई भुलेर कोही अगाडि बढ्न नहुने उहाँले बताउनुभयो ।

अरु पार्टीको अनुशासन तोडाएर, अनुचित हथ्कण्डा अपनाएर अगाडि बढ्दा हामी कहाँ पुग्छौं ? काँग्रेसतिर सङ्केत गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बेलामा नेपालका बुद्धिजिवीसमेत चुइँक्क बोल्न नसकेको देख्दा चिन्ता लागेको बताउनुभयो । लोकतन्त्र, पद्धति र प्रक्रियाको पक्षमा बुद्धिजीवीहरुले पनि सुझाव दिनुपर्ने उहाँले बताउनुभयो । “संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेकै कारण सरकारको सिफारिसमा उपधारा ७ बमोजिम नयाँ निर्वाचनको मिति तोकिएको हो, कहाँनिर असंवैधानिक भयो ?” जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संवैधानिक व्यवस्थाको अप व्याख्या गर्ने काम उचित होइन ।” पत्रकार सम्मेलनमा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली, सरकारका प्रवक्ता पार्वत गुरुङ, प्रेस चौतारी नेपालका पूर्व इन्चार्ज राजेन्द्र गौतम, वर्तमान इन्चार्ज सूर्य थापा, पूर्व अध्यक्षहरु गगन विष्ट, राजेन्द्र अर्याल, पूर्व महासचिव विष्णु रिजाल, अध्यक्ष गणेश बस्नेतसहित पार्टीका अन्य नेता तथा चौतारी आबद्ध पत्रकार र अन्य पत्रकारको सहभागिता थियो ।

Nabintech