११ बैशाख २०८१, मंगलवार
स्वामी विवेकानन्दका केही उत्प्रेरक भनाइहरू

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार २२:०८

स्वामी विवेकानन्दका केही उत्प्रेरक भनाइहरू

स्वामी विवेकानन्द पूर्वीय दर्शनका एक कुशल प्रचारक हुन् । जीवनभरि नै ब्रह्मचर्यमा रहेर अध्ययन अनुसन्धान एवं विभिन्न स्थानमा प्रवचनमा लागेका उनले मान्छेको सफलताको लागि केही उत्प्रेरक विचारहरु व्यक्त गरेका छन् । जसलाई तल उल्लेख गरिएको छ ।

–कहिलै पनि आत्माको लागि केही कुरा असम्भव छ भन्ने नसोचौं । सबैभन्दा ठूलो अधर्म नै यही सोचाइ राख्नु हो । यदि कुनै कुरा पाप हुन्छ भने हामीले आफूले आफैँलाई कमजोर बनाउनु नै पाप कर्म हो ।

–यो सारा ब्रह्माण्ड हाम्रै हातमा छ । आफ्नै हातले आँखा छोप्दा सारा अन्धकार बनाउन सकिन्छ भने हात निकाल्दा सारा ब्रह्माण्ड नियाल्न सकिन्छ ।

–यदि जीवनमा सफल हुनुछ, जीवनमा केही पाउनु छ वा महान बन्नु छ भने आफ्नो लक्ष्य निर्धारणमा ध्यान दिनुहोस् । तर कसरी निर्धारण गर्ने आफ्नो लक्ष्य भन्नेमा यकिन हुनुपर्छ ।

–सबैभन्दा पहिले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नुपर्छ । जुन जीवनको ध्येय हुँदैन, त्यो जीवनको कुनै अर्थ हुँदैन । तर यति हुँदाहुँदै पनि हामीले ध्यान दिनुपर्छ कि हाम्रो लक्ष्य एवं कार्यको पछि शुभ उद्देश्य हुनु जरुरी छ ।

–जसले काम गर्ने निश्चित गर्छ, उसमा केवल काम गर्नु मात्रै शेष बच्छ । तर निश्चय गर्नुमा नै आधा काम सम्पन्न भइसकेको हुन्छ ।

–जीवनमा एउटा लक्ष्य लिनुहोस, त्यो लक्ष्यलाई दिनरात सोच्नुहोस् । फेरि त्यो लक्ष्यको प्राप्तिको लागि दिनरात जुट्नुहोस् । कुनै पनि हालतमा आफ्नो लक्ष्यबाट भड्किनु हुँदैन ।

–आफ्नो आदर्श समाउनको लागि हजार पटक अघि बढ्नुहोस् । एकपटक असफल हुनुभयो भने पनि फेरि एकपटक प्रयास गर्नुहोस् । यस्तो भयो भने सफलता अवश्य पनि प्राप्त हुन्छ ।

–जीवनमा जे कुरा तय गरिएको छ या जुन लक्ष्य निर्धारण गरिएको छ । त्यसलाई प्राप्त गर्नको लागि जरुरी छ आत्मविश्वास । आत्मविश्वास सफलताको रहस्य हो । हामीलाई आफूप्रति आफैँलाई विश्वास छैन भने हाम्रो कार्य कुनैपनि हालतमा सफल हुँदैन । जुन कार्य गरिन्छ, आस्था र विश्वासका साथ गर्नुपर्छ ।

–आत्मविश्वास वीरताको सार हो । यो सफलताको लागि जरुरी छ । आफूले आफैँमा मान गर्नु, अभिमान गर्नु, विश्वास गर्नु र लगनको साथ जुटिरहनु आवश्यक छ । यदि तपाईंले आफूले आफैँलाई विश्वास गर्नुभयो भने तपाईंलाई प्रत्येक कार्यमा सफलता मिल्नेछ । जहिलेसम्म पवित्र भएर तपाईं आफ्नो लक्ष्यप्रति डटिरहनुहुन्छ । तपाईं कहिलै पनि असफल हुनुहुन्न ।

–आफ्नो लक्ष्यप्रति सदैव जागरुक रहनु र जीवनको प्रत्येक क्षणमा लक्ष्यको प्राप्त गर्नको लागि प्रयासरत रहनुलाई समर्पण मान्ने गरिन्छ । कुनै पनि कार्यमा सफलता पाउनको लागि समर्पण अनिवार्य शर्त हो ।

–दृढ निश्चय नै विजय हो । युवाहरु ध्येयप्रति सम्पूर्ण संकल्प वा समर्पण राख्न सक्ने हुनुपर्छ । यस संसारमा प्रत्येक वस्तु संकल्प शक्तिमा निर्भर हुन्छ । शुभ उद्देश्यको लागि सच्चा लगनले गरिएको प्रयत्न कहिलै निष्फल हुँदैन ।

–समर्पणद्वारा कार्यलाई पूर्ण गर्ने लगनले नै युवाहरुलाई सफलताको बाटोमा लैजान्छ । जीवनमा नैतिकता, तेजस्विता र कर्मण्यताको अभाव हुनुहुँदैन । यसमा कुनै सन्देह लिनु आवश्यक छैन कि काम धेरै ढिला भयो । किनकि सबै महान कार्य विस्तारै विस्तारै हुने गर्छ । परन्तु पवित्रता, धैर्य तथा प्रयन्तद्वारा सारा बाधाहरू दूर हुने गर्छ ।

–संस्कार सुविचार, संकल्प, समर्पण र सिद्धान्त यी पाँच अमृतलाई नै पञ्चामृत मानेर ग्रहण गर्दा यसले सफलता प्राप्त गर्न सकिन्छ । जुन व्यक्तिमा असल चरित्र हुन्छ त्यही व्यक्ति नै जीवनको सफलतामा पुग्न सक्छ । युवाहरुले असल चरित्र निर्माणको लागि पाँच सूत्र अपनाउन सक्छन् । ती हुन् :

१) आत्मविश्वास
२) आत्मनिर्भरता
३) आत्मज्ञान
४) आत्मसंयम
५) आत्मत्याग

यी पाँच तत्वको अनुशीलनले व्यक्ति स्वयंको व्यक्तित्व तथा देश र समाजको पुनर्निर्माण गर्न सक्छ।

–अहिलेको युग संगठनको युग हो । अहिले सामूहिक आत्मविश्वासको जागरण आवश्यक छ । उदात्त ध्येयको लागि संगठित शक्तिलाई समर्पित गर्नुपर्छ । विवेकानन्द अमेरिकामा भएको संगठित कार्य देखेर अचम्मित भएका थिए । विचारवान र एक उत्साही व्यक्तिको एउटा सानो समूहले पनि संसारलाई बदल्न सक्छ । वास्तवमा संसारलाई अहिलेसम्म बदलेको पनि संगठित शक्तिले नै हो ।

Nabintech