७ बैशाख २०८१, शुक्रबार
हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

  • टाइम्स संवाददाता

  • २३ असार २०७८, बुधबार १८:३८

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताएका छन् । मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो । त्यस्तै सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिएको थियो । उनले मुलुकको संविधानको पनि उल्लंघन गरेको विपक्षीहरुले आरोप लगाएका थिए । यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो । गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो । मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए । मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताएका थिए । सो क्रममा आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए । लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किन सक्ने आशंका बढेको छ । –एजेन्सीको सहयोग

Nabintech